हिमालयन रिमा बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ बन्दै उपासना पौडेल
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त हुने भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्न सिफारिस गरेको हो । उक्त सिफारिस स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाइएको तर हालसम्म प्राधिकरणबाट स्वीकृति आइनसकेको कम्पनीले स्रोतले बताएको छ । ‘सीईओ चन्द्रशेखरनको राजीनामा स्वीकृत गरेको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको छ, प्रस्तावलाई स्वीकृत गराउन प्राधिकरणमा समेत पेश गरिएको छ, हालसम्म स्वीकृति भने आईसकेको छैन । पौडेलले पनि सञ्चालक समितिको बैठकले आफूलाई सीईओमा नियुक्त गरेको स्वीकार्दै प्राधिकरणको एप्रुभल भने आउन बाँकी रहेको जानकारी गराएकी छिन् । यसअघि हिमालयन रिको सीईओमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थी थिए ।
उनले गत साता राजिनामा दिएका र सोही साता बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । र, सोही बैठकले नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको उक्त निर्णयलाई प्राधिकरणले स्वीकृति दिएपछि मात्रै पौडेलले कम्पनीको सीईओ कार्यभार सम्हाल्ने छिन् । पौडेल हाल सोही कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को रुपमा कार्यरत छिन् । करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल गत २०७९ मंसिरमा पुनर्बीमा क्षेत्र अर्थात हिमालयन रिमा डीसीईओको रुपमा प्रवेश गरेकी हुन्। त्यसअघि उनी तत्कालिन युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज ९एफएमएस० बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् ।