इजरायलमा ज्यान गुमाएका विद्यार्थीको परिवारलाई १० लाख दिने सरकारको निर्णय
काठमाडौं । नेपाल सरकारले हमासको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही दुई लाख रूपैयाँ दिने घोषणा गरेको छ । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन् ।
मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारले जनही १२ लाख रुपैयाँ पाउने भएका छन् । इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका आठ जना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भइसकेको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी भएको जनाइएको छ ।