ओली–दुर्गा प्रसाई सम्बन्ध चाटाचाटदेखि काटाकाटसम्म
काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाई एमाले अध्यक्ष केपी ओलीलाई हजुरबुबा भनेर सम्बोधन गर्थे । ओली अरु सबैका बा भए पनि दुर्गा प्रसार्इका हजुरबा थिए ।
विगतमा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै घरमा मार्सी चामलको भात खुवाएर प्रसाई चर्चामा आएका थिए । त्यसपछि नै हो ओलीसँग प्रसाई नजिकिएको ।
पछि ओलीले प्रसाईलाई एमाले केन्द्रीय सदस्यसमेत बनाए । अलि अगाडिसम्म ओली र प्रसाईबीचको सम्बन्ध चाटाचाट थियो, अहिले काटाकाटसम्म पुगेको छ ।
मेडिकल माफिया प्रसाईंमाथि सोमबार काठमाडौंमा मोसो दलेको घटनाले झन् ओलीसँगको सम्बन्धमा तिक्तता आएको छ । झापाको विर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईमाथि एमालेको भ्रातृसंगठन युवा संघका कार्यकर्ताले मोसो दलेका थिए ।
एमाले नेता महेश बस्नेतको निर्देशनमा आफूलाई मोसो दलिएको भन्दै प्रसाईले एलोप्यागोडा होटलमा आयोजित पत्रकार सम्मेलनमा उपयुक्त समयमा जवाफ दिने घोषणा गरेका थिए ।
सोमबार राति नै एमाले नेता महेश बस्नेतले प्रसाईलाई गलत हर्कत छाडेर सच्चिन आग्रह गर्दै युवा संघलाई कम नआँक्न चेतावनी दिएका थिए । त्यसलगत्तै झापामा एमाले अध्यक्ष केपी ओली र महेश बस्नेत मुर्दावादको नारा लागेको छ । प्रसाई समर्थित युवाहरूले सोमबार साँझ झापामा ओली र बस्नेत मुर्दावादको नारा लगाउँदै जुलुस निकालेका हुन् ।
झापा ओलीको गृहजिल्लासमेत हो । प्रसाई पनि झापाकै हुन् । यो घटनाले अब झापामा ओली विरोधी समूह बढ्ने अवस्था देखिएको छ । विगतमा प्रसाईलाई ओलीले नै संरक्षण गरेका थिए ।
मेडिकल माफिया प्रसाईंले सोमबार एलोप्यागोडा होटलको हलभित्र युट्युवर सम्मेलन गरी मारवाडी समुदायलाई हिलो छ्याप्ने काम गरेका थिए । त्यसपछि बाहिर निस्कँदै गर्दा केही युवाहरुले उनीमाथि कालोमोसो दलेका थिए । प्रसाईंले विशाल ग्रुप, त्रिवेणी ग्रुप, गोयल ग्रुपमाथि विभिन्न आरोप लगाएका थिए ।
विशाल ग्रुप, त्रिवेणी ग्रुप, गोयल ग्रुपले व्यापारको नाममा तस्करी गर्दै आएको, राज्यलाई कर नतिर्ने गरेको, बालमन्दिर, पशुपति विकास क्षेत्रलगायतको सार्वजनिक सम्पत्ति हडपेको, व्यावसायिक साझेदारसँग विवाद गरेर उनीहरुको सम्पत्ति कब्जा गरेको जस्ता आरोप लगाएका थिए ।
प्रसाईंलाई साथ दिन राकेश अडुकिया, वैद्यनाथ अग्रवाल, रमेश अग्रवाल मञ्चमा बसेका थिए । राकेश तिनै व्यापारी हुन्, जो ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका व्यक्ति हुन् ।
प्रसाईं आफैंले विगतमा बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए । र, विभिन्न जिल्लामा बैंकका कर्मचारीमाथि मोसो दलेका थिए ।
प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान घोषणा गरेर विभिन्न व्यवसायीहरुलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।