कार्कीलाई मुख्यमन्त्री र आठ सांसदलाई हस्ताक्षर फिर्ता लिन कांग्रेसको अनुरोध

काठमाडौं । कांग्रेस कोशीको कार्यसम्पादन समितिको बैठकले केदार कार्की मुख्यमन्त्रीमा गरेको दाबी र समर्थन गर्ने आठ सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ ।

शुक्रबार बसेको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने आठ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो । कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाका अनुसार बैठकले पार्टीलाई एकताबद्ध बनाउन कोशी संसदीय दललाई अनुरोधसमेत गरेको छ । केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको छ ।

सत्तारुढ गठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कांग्रेसका नौ सांसदले विद्रोह गर्दै एमालेको सहयोगमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । उनीहरूले आफ्नो पुरानो हस्ताक्षर दुरुपयोग गर्दै आङ्बोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर जुटाएको भन्दै सशरीर बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष उपस्थित भएर निर्णय कार्यान्वयन नगर्न आग्रह गरेका थिए ।

जसकारण अहिले कोशी प्रदेशमा को मुख्यमन्त्री बन्ने भन्ने अन्योल देखिएको छ । सत्तारुढ गठबन्धनले भने केही दिनपछि मात्र निर्णय गर्न प्रदेश प्रमुखलाई दबाब दिएको बताइन्छ । प्रदेश प्रमुख खापुङले शुक्रबार अपराह्न ५ बजेसम्मको समयसीमा निर्धारण गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *