कोशीमा कांग्रेस संसदीय दलको नेता थापाले दिए राजीनामा
काठमाण्डौं । नेपाली काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले नैतिकताका आधारमा राजीनामा दिएका छन् । कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार निर्माणको घटनाक्रमका कारण राजीनामा दिएको थापाले बताएका छन् ।
‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रुपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरी आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश ससदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहनेछु’ उनले राजीनामा पत्रमा भनेका छन् ।
कोशीमा दुई दुई पटक मुख्यमन्त्री बनेका थापाको दुबै पटकको सरकार सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका थिए । आफूले दुई पटक मुख्यमन्त्री बन्दा पनि आफूले त्यसलाई जोगाउन नसकेको स्वीकार गरेका छन् । अदालतले पदमुक्त गरेपछि आफूले त्यतिबेलै राजीनामा गर्नुपर्ने विचार गरे पनि विभिन्न कारणले ढिलो भएको थापाको भनाइ छ ।