कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की ,सत्तारुढ गठबन्धनलाई धक्का
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । एमालेका ३९ र कांग्रेसको विद्रोही समूहका ८ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले आइतबार पद तथा गोपनीयताको शपथ लिनेछन् । सत्तारुढ गठबन्धनले इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेपछि कांग्रेसको शेखर कोइराला समूहका ८ जना सांसदलाई लिएर कार्कीले विद्रोह गरे । नेता कार्की मुख्यमन्त्री बनेपछि गठबन्धनका शीर्ष नेताले उनलाई नै स्वीकार गरेका छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले गठबन्धन प्रतिदृढ रहेको बताउँदै कार्कीलाई नै मुख्यमन्त्री स्वीकार गरेका हुन् । कार्कीको नियुक्तिपछि प्रधानमन्त्री प्रचण्डले कार्की गठबन्धनकै उम्मेदवार भएको बताए । देउवा र कोइरालासँगको सहमतिपछि चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘अहिले कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको मुख्यमन्त्री हो, त्यसैले यो समस्या जसरी सोचिएको थियो, ल्याण्डिङ हुँदाखेरि सेफल्याण्डिङ गरेका छौं । उनले गठबन्धनलाई बलियो बनाएर लैजाने सहमति पनि भएको बताए । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि कार्कीले पार्टीभित्र मुख्यमन्त्रीको उम्मेदवार आफू हुनुपर्ने बताएका थिए । गठबन्धनले उम्मेदवार नबनाए जसरी भएपनि मुख्यमन्त्री बन्ने चेतावनी दिएका थिए । कार्कीले आफूले ‘ब्लाइन्ड’ खेलेर जितेको दाबी गर्छन् । ‘तासमा ब्लाइन्ड खेलेजस्तै खेलेको छु, अरुले हेर्दै हाप्छन्, म अन्तिमसम्म चलिरहन्छु ा आफ्नो अडानमा दृढ रहेका कार्कीले प्रदेशको छैटौं मुख्यमन्त्रीमा नाम लेखाए । मुख्यमन्त्री बन्न शेखर कोइरालाको साथ पाएपछि पार्टीभित्र विद्रोह गरेका कार्की नेविसंघको राजनीतिमा पनि विद्रोही नेताको रुपमा चिनिन्थे । मोरङ क्षेत्र नम्बर ६ (ख) बाट दोस्रो पटक निर्वाचित भएका कार्की प्रदेशसभाको पहिलो कार्यकालमा दलको प्रमुख सचेतक र आन्तरिक मामिला तथा कानुन मन्त्री बने । गत मंसिरको प्रदेशसभा निर्वाचनमा उनले आफू मुख्यमन्त्री बन्ने भन्दै चुनावी अभियान सञ्चालन गरेका थिए । उनी एमालेका उम्मेदवार पर्शुराम बस्नेतलाई पराजित गर्दै प्रदेशसभा सदस्य चुनिएका थिए । २०३० पुस ७ मा जन्मेका कार्कीले विद्यार्थी राजनीतिक सुरुवात नेपाल विद्यार्थी संघबाट गरे । २०४४ सालमा उनी जनता उच्च माध्यमिक विद्यालय मधेसा इनरुवाको नेपाल विद्यार्थी संघ इकाई सभापति बने । उच्च शिक्षा अध्ययनका लागि विराटनगर आएका उनी नेविसंघको क्षेत्रीय सभापति हुँदै २०५९ सालमा मोरङ जिल्ला सभापति बने । २०६० सालमा उनी नेपाल विद्यार्थी संघबाट महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापतिको उम्मेदवार बनेका थिए । तर अनेरास्ववियूका उम्मेदवार सागर थापासँग पराजित भए । तीन वर्षपछि २०६३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यको बने । स्नातकसम्मको शिक्षा हासिल गरेका कार्की कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए, तर पराजित भए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बन्दा दल भित्र विद्रोह गरेका कार्कीलाई सरकार सञ्चालन गर्न सहज छैन् । गठबन्धनको निर्णय विपरीत एमालेसँग मिलेर उम्मेदवार बनेका करण उनीप्रति दलभित्र तीब्र असन्तुष्टि छ । ‘एमालेको साथमा कतिदिन हिँड्ने हो, भोलि त दल चाहिन्छ होला’, कांग्रेसका एक सांसदले भने, ‘सरकार सञ्चालन गर्न केदार कार्कीलाई सहज छैन । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले एमालेलाई गुन तिर्न सरकारमा सहभागी गराउने तयारी गरेका छन् । सरकार विस्तार गर्दा कांग्रेसको विद्रोेही समूह पनि सहभागी हुनेछ । मुख्यमन्त्री कार्की मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेका कारण पार्टीले सहयोग गर्ने बताउँछन् । मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले यसअघि गठबन्धनले पटकपटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न नसकेको र मध्यावधिको बाटो देखिएकोले त्यसलाई रोक्न सांसदहरूले आफूलाई समर्थन गरेको बताए । ‘यसलाई स्वभाविक रुपमा पार्टीले आत्मसाथ गर्छ भन्ने लाग्छ । ‘संविधानले देखाएको बाटो अनुसार भएको हो, गठबन्धनको मात्रै संसदको संख्याले मध्यावधिमा जाने बाटो थियो, त्यसैले सांसदहरूको एक रुपताले मध्यावधिको बाटो रोकेको हो । उनले सबैलाई समेटेर सरकार चलाउने बताए । ‘अहिले जुन माननीय सदस्यज्यूको समर्थनमा मुख्यमन्त्री भएको छु उहाँको सल्लाहमा सरकार बनाउँछु , ‘सबै दलसँग सहकार्य गरेर अघि बढ्छु ।