डिस होमको क्रिकेट खेलाडीलाई आकर्षक पुरस्कार
काठमाडौं। डिस होमले आईसीसी टी २० विश्वकप एसिया छनोटमा नेपाली खेलाडीलाई हौस्याउन आकर्षक पुरस्कार घोषणा गरेको छ। डिस होमले विभिन्न ७ विधामा पुरस्कार रकम घोषणा गरेको हो। एकै इनिङ्समा सेन्चुरी प्रहार गर्ने र ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ दिने डिस होमले जनाएको छ। शतक प्रहार गर्नेले १० लाख, ५ विकेट लिनेले ५ लाख तथा अर्धशतक प्रहार गर्ने र ३ विकेट लिने खेलाडीले १ लाख रुपैयाँ पाउनेछन्।
त्यस्तै ३५ रन बनाउनेले ५० हजार र ३ क्याच या स्टम्पिङ गर्नेले ५० हजार रुपैयाँ पाउनेछन्। यसअघि अर्ना बियरले पुरस्कार रकम घोषणा गरेको थियो। अर्ना वियरले हरेक रनको १ हजार, चौकाको १० हजार, छक्काको २० हजार, डट बलको १ हजार, मेडन ओभरको १० हजार, हरेक विकेटको २५ हजार, क्याचको २५ हजार र रनआउटको २५ हजार घोषणा गरेको हो। नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। छनोटको तेस्रो खेलमा नेपालले भोलि ओमनसँग खेल्दैछ।