महासंघको भूकम्प प्रभावितहरुको उद्धार र आपतकालिन राहतमा जुट्न सहकारीकर्मीलाई आव्हान


जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट ठुलो मात्रामा मानविय र भौतिक क्षति पुगेकाले उद्धार र राहतमा जुट्न राष्ट्रिय सहकारी महासंघले आव्हान गरेको छ। गत शुक्रबार राती जाजरकोट जिल्लाको बारेकोट गौउपालिका १ रामिडाँडा केन्द्रविन्दु बनाएर भूकम्प जाँदा उक्त जिल्ला र रुकुम पश्चिममा मानविय र भौतिक रुपमा ठुलो क्षति पुगेकाले सहकारीकर्मीहरुलाई आफ्नो क्षेत्रबाट राहत,उद्धार र पुनःस्थापनामा जुटन आग्रह गरिएको हो । राष्ट्रिय सहकारी महासंघले एक विज्ञप्ति जारी गर्दै भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम लगायतका जिल्लाहरुमा मानवीय लगायत ठुलो मात्रामा भौतिक संरचनामा क्षति पुगेकाले राहत र पुनः स्थापनामा सहयोग गर्न सबै सहकारी संघ संस्थालाई अपिल गरेको छ । महासंघले विपद्को यस घडीमा विषयगत केन्द्रीय सहकारी संघहरु,राष्ट्रिय सहकारी बैंक, प्रदेश तथा जिल्लास्तरीय संघहरु,तथा प्रारम्भिक सहकारी संस्थाहरुलाई भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न तथा अस्थायी आवास निर्माणका लागि आवश्यक सामाग्रीहरु उपलब्ध गराउन आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्न आव्हान गरेको छ । साथै घाइतेका लागि आवश्यक रगत संकलन तथा भूकम्प पीडितका लागि अस्थायी वसोवासको व्यवस्थापनको सहयोगमा जुट्न महासंघका अध्यक्ष मिनराज कँडेलले सबै सहकारीकर्मीलाइ अपिल गरेका छन् ।यस विषम परिस्थितिमा सहकारी अभियानले सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको समेत उनले जानकारी दिए । त्यसैगरी नेपालभरका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघ नेफस्कूनले एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपतिका कारण ती क्षेत्रमा ठुलो मात्रामा जनधनको क्षति पुगेकाले सहकारी अभियान एकजुट भएर घाइतेहरुको उद्धार,पीडितहरुका लागि आपतकालिन राहत तथा पुनः स्थापनामा जुट्न सबै सहकारीकर्मीहरुलाई अपिल गरेको छ ।

‘ एकका लागि सबै र सबैका लागि एक ’ भने सहकारिताको मर्म अनुसार दुःखको यस घडीमा प्रभावित जिल्लासँगै देशभरका सम्पूर्ण सहकारीकर्मीहरुलाई उच्च प्राथमिकताका साथ एकतावद्ध भएर सहयोगमा जुट्न नेफस्कूनले आग्रह गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा मानवीय , स्वास्थ्य,उपचार, खाद्यान्न सामाग्री लगायत अत्यावश्यक सहायताको उपलब्धताका लागि स्थानीय सरकार र सहकारी सञ्जाल मार्फत खटिन पनि नेफस्कून विशेष आग्रह गरेको छ । सबै सहकारीकर्मीहरुलाई विपतको यो समयमा आ आफनो क्षेत्रबाट हरसम्भव सहयोग गर्न नेफस्कूनले विशेष अपिल गरेको छ । त्यसैगरी नेपाल कृषि केन्द्रीय सहकारी संघले पनि जाजरकोट र रुकुम भूकम्पका पीडितहरुको उद्धार, राहत र पुनःस्थापनामा सबै सहकारीकर्मीलाई सहयोग गर्न अपिल गरेको छ । संघले एक विज्ञप्ति जारी गदै गत शुक्रबार रातीगएको भूकम्पबाट ठुलो जन धनको क्षति भएकाले तत्काल राहत र पुनः स्थापनाको व्यवस्था मिलाउन सहकारीकर्मीहरुलाई आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको हो । भूकम्पबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनः स्थापनाको लागि साना किसान लघुवित वित्तीय संस्था र नेपाल कृषि केन्द्रीय सहकारी संघको तर्फबाट सक्दो सहयोग गर्ने संघका अध्यक्ष खेम बहादुर पाठकले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *