यशोधर साकोसको साधारणसभा सम्पन्न,शेयर पुँजी १६ प्रतिशतले वृद्धि


ललितपुर । ललितपुरको बुबाहलमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष राजमान बज्राचार्यले संस्थाले समुदायमा आधारित भएर सदस्य केन्द्रीत वित्तीय कारोवार गर्दै आएको बताए । सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि संस्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उनले जानकारी दिए । सदस्यहरुको सल्लाह सुझावलाई आत्मसात गर्दै संस्था अगाडी बढेको र संस्थालाई दिगो रुपमा अगाडी बढाउन आवश्यक पुर्वधार निमार्ण गरिने पनि उनले सभामा बताए । संस्थाकी लेखा समिति संयोजक अमिता बज्राचार्यले समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्दै मुलुकको आर्थिक मन्दीका बीचमा पनि संस्थाले सदस्यहरुलाई उत्कृष्ट प्रतिफलका साथै वित्तीय सेवा दिन सकेको बताईन् ।

सभामा कोषाध्यक्ष ज्ञानेन्द्र बज्राचार्यले अर्थिक बर्ष २०७९। ८० कोे आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । संस्थाले समुदायमा छरिएर रहेको स सानो पुँजीलाई एकीकृत रुपमा संकलन गरी सदस्यहरुको आयमुलक, सिपमुलक तथा उत्पानमुलक क्षेत्रमा लगानी गर्दै आएको उनले बताए । संस्थाले गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी १६.०४ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । त्यसैगरी त्यस अवधिमा ऋण लगानीमा १९.५६ प्रतिशत र बचत संकलनमा ८। ९१ प्रतिशले वृद्धि गर्न सफल भएको छ ।

संस्थाको गत असार मसान्तसम्म शेयर पुँजी ७० लाख ५८ हजार , जगेडा तथा अन्य कोषहरुमा ३७ लाख १७ हजार , बचत संकलन १० करोड २९ लाख र ऋण लगानी ९ करोड १९ लाख रहेको छ ।
संस्थाले त्यस अवधिमा १५ लाख ४९ हजार खुद नाफा गर्न सफल भएको छ । संस्थामा ४ सय ८७ जना सदस्य आवद्ध रहेका छन् । संस्थले गत बर्ष निःशुल्क नाक , कान ,घाँटी तथा आँखा जाँच, रक्तचाप तथा सुगर जाँच,यशोधर महाविहार बुबहाल परिसर सरसफाई र सदस्यहरुलाई धार्मिक भ्रमण गराउने जस्ता गतिविधि आयोजना गरेको थियो । संस्थाले सदस्यहरुको सहजताको लागि क्युआर कोड तथा बैंक ट्रान्सफर सुविधा सञ्चालनमा ल्याएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *