अब ब्याजदर घट्दै जान्छ ः अध्यक्ष केसी
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकर्स संघको आयोजनामा सोमबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले बैंकको ब्याजदर क्रमशः घट्दै जाने बताएका हुन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका केसीले बैंकहरुको खराब कर्जा बढेका कारण पहिलो त्रैमासमा १६ अर्ब रुपैयाँ प्रोभिजन गर्नु परेको बताए । जबकी गत वर्षको सोही अवधिमा ७ अर्ब रुपैयाँ मात्रै प्रोभिजन गरेका थिए । विश्वव्यापी रुपमा बढेको उच्च ब्याजदरका कारण १३ बैंकको नाफा घटेको उनको भनाइ छ । ‘बैंकहरुको रिकभरी नहुँदा खराब कर्जा बढेको छ, गत वर्ष ७ अर्ब मात्रै प्रोभिजन गरेकोमा यस वर्ष १६ अर्ब गर्नु परेको छ,’ उनले भने, ‘बैंकहरुले व्यवसाय पनि विस्तार गर्न सकेका छैनन्, विश्वव्यापी रुपमा बढेको उच्च ब्याजदर, बिजनेस डाउन लगायत कारणले नाफामा प्रभाव परेको हो ।
निजी क्षेत्रको ब्यापार व्यवसाय सुस्ताएका कारण त्यसको प्रभाव स्वतः बैंकहरुमा परेको उनको भनाइ छ । पछिल्लो समय बैंकहरुले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन बढाएर ८४ अर्ब रुपैयाँ कर्जा बढाएको उनको भनाइ छ । गत वर्ष बैंकहरुको औसत खराब कर्जा २.९८ प्रतिशत रहेकोमा बढेर असोज मसान्तसम्म खराब कर्जा ३.६१ प्रतिशत पुगेको उनले बताए । ‘बाहिरका देशहरुमा पनि खराब कर्जा धेरै बढेको देखिन्छ, अब कसरी सुधार गर्ने भनेर हामीले काम गरिरहेका छौं,’ उनले भने, ‘खराब कर्जा्प्ररति सजग बन्नु पर्छ तर डराउनु पर्ने अवस्था छैन । हिमालयन बैंकका सीईओ अशोक राणाले पनि बैंकको ब्याजदर घट्दै जाने बताए । राष्ट्र बैंकको नीतिले ब्याजदरमा प्रभाव पारेको उनको भनाइ छ । ‘अब ब्याजदर घट्ने देखिन्छ, राष्ट्र बैंकको नीतिले ब्याजदरमा प्रभाव परिरहेको छ, तल जान सक्छ माथि जाने सम्भावना छैन । उनका अनुसार बैंकहरुले रिकभरीमा बढी प्राथमिकता दिएका छन् ।