ओलीलाई प्रचण्डको प्रश्न- संविधान च्यात्न र सदन विघटन गर्न बहुमत चाहिएको हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को निर्वाचन नेपाली जनताका लागि जीवन मरणको लडाइँ भएको बताएका छन् । दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई बुधबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘संविधानको रक्षा गर्ने र उल्ट्याउनेबीच संग्राम हुँदैछ मंसिर ४ मा एकातिर संविधान जोगाउने र अर्कातिर संविधान विरोधी गठबन्धन छ’, उनले भने, ‘संविधान च्यात्ने र लोकतन्त्रको हत्या गर्ने गठबन्धन केपी ओलीको नेतृत्वमा छ । यो निर्वाचन लोकतन्त्र र लोकतन्त्रविरोधीको बीचमा संघर्षका रुपमा आएको छ ।’ उनले हिजो युद्धका क्रममा नेपाली कांग्रेस र माओवादी आमने सामने भए पनि ओलीकै कारण एकैठाउँमा आइपुगेको बताए ।

‘हामी हिजो युद्धमा आमनेसामने थियौँ माओवादी र कांग्रेस आमनेसामने थिए । केपी ओली सुध्रिए भनेर पार्टी एकता र गठबन्धन गरियो तर संविधान मास्न ढुकेर पो बसेका रहेछन्’, उनले भने, ‘जनताका अधिकार खोस्न बसेका रहेछन् ।
बयलगाडावाला सिद्धान्तबाट उनी पछि हटेका रहेनछन् । परिवर्तन उल्ट्याउने षड्यन्त्रमा लागेका रहेछन् ।’

उनले केपी ओलीले व्यवस्था उल्ट्याउन खोजेपछि हिजो युद्धमा भिडेको कांग्रेसससँग मिल्नुपरेको उनले बताए ।

‘ओलीले अहिले बहुमत चाहियो भन्दा मलाई त लाज लाग्छ । दुईतिहाइ बहुमतको सरकार विघटन गर्ने संसद विघटन गर्ने केपी ओली अब कुन नैतिकताले जनतासँग बहुमत माग्छन् ?’, उनले भने, ‘संविधान च्यात्न र सदन विघटन गर्न बहुमत चाहिएको हो ? केपी ओलीालई मेरो चुनौती तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउन् ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *