प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुरु


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार शुरु भएको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले एक संक्षिप्त समारोहकाबीच एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । कम्पनीले एकीकृत कारोबार नयाँ स्थान्तरित केन्द्रीय कार्यालय कमलादीस्थित गणेशस्थानमा रहेको भवनबाट गरेको हो । एकीकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक राजुरमण पौडेलले लामो समयको समस्या झेलेर पनि मर्जर कार्य सम्पन्न गरेकोमा शुभकामना दिए । उनले कम्पनीले जनताको चाहना अनुसार नयाँ नयाँ बीमा पोलिसी ल्याएर स्वस्थ प्रतिस्पर्धाकोबीच कारोबार गर्ने आशा व्यक्त गरे । प्रभु महालक्ष्मी लाइफको नवगठित सञ्चालक समितिको जेष्ठ सदस्य उमेशलाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए । बीमा बजार झन् झन् प्रतिस्प्रधी हुँदै गइरहेको बताउँदै उनले मर्जरपछि दुबै कम्पनीका कर्मचारीहरुलाई मिलाएर उर्जाशील बनाउने जिम्मेवारी दुबै कम्पनीका कार्यकारी प्रमुखहरुको काँधमा आएको व्यक्त गरे । कार्यक्रममा सञ्चालक शंकर गौतमले स्वागत मन्तव्य दिँदै अनुभवी र युवा टिम पाएको कम्पनीले भविष्यमा राम्रो व्यवसाय र प्रतिफल दिने विश्वास व्यक्त गरे ।

त्यस्तै, बीमा क्षेत्रको मर्जरमा प्रभु महालक्ष्मी लाइफले नयाँ इतिहास बनाउने र राम्रो कम्पनी बनेर देखाउने आशा व्यक्त गरेको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्देशन दिएसँगै साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७९ असार ३० गते मर्जरको लागि सम्झौता गरेका थिए । त्यसपछि दुई कम्पनीले मर्जरको लागि अन्तिम सम्झौता गरी एक वर्षको अवधिमा एकीकृत कारोबार गरेका हुन्।

२०८० जेठ २६ गतेको साधारण सभाले एकीकृत कारोबारको प्रस्ताव पारित गरेसँगै कम्पनीले नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई मर्जर कार्य सम्पन्न गरेको हो । प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ सय करोड रुपैयाँ पुर्‍याउने निर्देशन जारी गरेको हो । साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ मर्जपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

बाँकी पुँजी भने कम्पनीले आईपीओ जारी गरेर पुर्याउने योजना बनाएको छ । मर्जरपछि कम्पनीको कर्मचारी संख्या ४४२ र शाखा उपशाखा मर्जर र बन्द पछि ११६ वटामा झर्नेछन् । त्यस्तै, नयाँ बनेको कम्पनीको सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाएका छन् । कम्पनीको अध्यक्षको बारेमा भने हालसम्म निर्णय भइसकेको छैन । अब एकीकृत कारोबार पछि बस्ने सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्ष चयन गर्ने कम्पनीले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *