वर्तमान सरकार लामो समय टिक्नेवाला छैन् : महामन्त्री थापा

परासी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबारबाट पुनः संवाद यात्रा सुरु गरेका छन् ।

पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरामा रहेको बीपी कोइरालाको शालिककमा माल्यार्पण गरेर संवाद यात्रा सुरु गर्दै उनले जनतामा देखिएको निराशाको कारण र प्रत्यक्षरुपमा सर्वसाधारणको समस्यालाई नजिकबाट नियालेर समाधानको योजना बनाउने बताए । जनताको आधारभूत आवश्यकतामा राजनीति नगर्ने विषयमा सरकार र प्रतिपक्ष दुवै सहमत हुनुपर्ने उनको भनाइ छ ।

वर्तमान सरकार लामो समय नटिक्ने बताउँदै जनताको आधारभूत आवश्यकताको विषयमा राजनीति नगर्न आग्रह गरे । ‘अहिलेको सरकारमा सहभागी दललाई नै यो सरकार लामो समय टिक्छ भन्नेमा शंका छ,’ उनले भने, ‘राजनीतिलाई जनचाहनाअनुसार सेवा गर्ने भन्दा पनि कुर्सी र पावरमा मात्र बस्न चाहने प्रवृत्तिलाई अब जनताले स्वीकार गर्दैनन् । त्यसैले वर्तमान गठबन्धनको सरकार पनि लामो समय टिक्नेवाला छैन् ।’

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशव कुमार बुढाथोकीको निधन भएपछि महामन्त्री थापाले स्थगित गरेका थिए । दोस्रो चरणको संवाद यात्रामा बिहीबार नवलपरासीका विभिन्न स्थानमा छलफल तथा जनगुनासो सुन्ने कार्यक्रम रहेको छ ।

अभियान भोलि रुपन्देहीबाट यात्रा सुरु गरेर कपिलवस्तु, दाङ र बाँके जिल्लासम्म पुग्ने छ । भोली १६ गते रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रियाबाट संवाद यात्रा सुरु भई कपिलवस्तु प्रवेश गर्नेछ । टोलीले १६ गते नै कपिलवस्तुको लुम्बिनी जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुँदै चन्द्रौटासम्म संवाद गर्नेछ ।

त्यसैगरी १७ गते विहान दाङको गोवरडिहामा थारु संवादबाट सुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुँदै बाँके प्रस्थान गर्नेछ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समुदायमा कांग्रेस अभियान अन्तर्गत नै महामन्त्री थापाले यो संवाद यात्रालाई निरन्तरता दिएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *