पूर्वसहसचिव सावित्री राजभण्डारी भ्रष्टाचारी ठहर

काठमाडौं । सहसचिवबाट अवकाश पाएको २३ वर्षपछि सावित्री राजभण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । उनीमाथि सरकारी पद दुरुपयोग गरी अनुचित सम्पत्ति आर्जन गरेको अभियोग सर्वोच्च अदालतबाट आइतबार प्रमाणित भएको हो । उनले ०५८ सालमा सहसचिवबाट अवकाश पाएकी थिइन् । अवकाशमा गएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्तिमा अनुसन्धान गरी २०६२ भदौ १६ मा मुद्दा दायर गरेको थियो । विशेष अदालतका तत्कालीन न्यायाधीश गौरीबहादुर कार्कीसहितको इजलासले राजभण्डारीलाई दोषी ठहर गर्दै गैरकानुनी आर्जन र त्यसबाट थपिएको लाभसहित दुई करोड ८६ लाख ४१ हजार ७४० रुपैयाँ ४२ पैसा जफत गर्नुपर्ने फैसाला सुनाएको थियो । त्यसअतिरिक्त राजभण्डारीलाई एक वर्ष जेल सजाय हुने फैसला गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले आइतबार राजभण्डारीलाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला सदर गरेको हो । तर, राजभण्डारी एकपटक त विशेष अदालतबाटै चोखिएकी थिइन् ।

‘हदम्याद’को तर्क दिँदै विशेष अदालतका तत्कालीन अध्यक्ष चोलेन्द्रशमशेर राणासहितको इजलासले २०६४ मंसिर २३ मा मुद्दा नै खारेज गरी राजभण्डारीलाई चोख्याएका थिए ।तर, विशेष अदालतबाट मुद्दा खारेज भएकामा अख्तियार सर्वोच्चमा पुनरावेदन गयो । सर्वोच्चले तथ्यभित्रै प्रवेश गरी निर्णय लिन भनेपछि विशेष अदालतले मुद्दा दोहोर्‍याउँदै ०६९ मंसिर १२ गते गैरकानुनी सम्पत्ति आर्जेको ठहर गरेको थियो । विशेष अदालतले राजभण्डारी र उनकी छोरी मोनिसा राजभण्डारी (बस्नेत) को नामको बैंक खातामा जम्मा भएको र बढे,बढाएको रकम गैरकानुनी ठहर गरेको हो । फैसलाका अनुसार, राजभण्डारीले विवाहित छोरी मोनिसा राजभण्डारी बस्नेतको नाममा हिमालयन बैंक पाटन शाखा र नेपाल बंगलादेश बैंक पुतलीसडक शाखामा खाता खोली आफैँले खाता सञ्चालन गरेकी थिइन् । भ्रष्टाचार अभियोगपछि उनले शेषकृष्ण र विजया गोयलसँगको पार्टनसिपमा कन्स्ट्रक्सन कम्पनी खोलेर त्यसको नाफा देखाउने प्रयास गरेकी थिइन् । तर, उनी स्रोत खुलाउन असमर्थ भएकी थिइन् । २०२२ माघ २३ मा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेकी राजभण्डारी ०५५ मंसिर २७ गतेदेखि ०५७ साल साउन २ गतेसम्म त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत भएर काम गरेकी थिइन् । त्यसपछिको अवधिमा अर्थ मन्त्रालयको सहसचिवबाट ०५८ भदौ २५ मा सेवा निवृत्त भएकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *