चौधरी फाउन्डेसनद्वारा ४८ दिने इलेक्ट्रिकल उपकरण मर्मत तालिम सम्पन्न

काठमाडौं । चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका हुन् । तालिमको मुख्य उद्देश्य ग्रामीण भेगका युवाहरूलाई रोजगारमुलक सीप विकास गर्नु रहेको चौधरी फाउन्डेसनले जनाएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सञ्चालित यस कार्यक्रम सफलतापूर्वक समापन भएको हो । चौधरी फाउन्डेसनले सुनसरीको गढी गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा पनि यस्तै तालिम सञ्चालन गरिरहेको हो ।

चौधरी फाउन्डेसनले तीन वटा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेखसम्बन्धी तीन दिने तालिम पनि सञ्चालन गरिरहेको छ । यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेस प्रदेशमा चाँडै सुरु हुने जानकारी दिइएको छ । यी सबै तालिमको मुख्य उद्देश्य लक्षित लाभग्राहीहरूलाई इलेक्ट्रोनिक्स मर्मत र रेखदेखसम्बन्धी गुणस्तरीय व्यावसायिक र प्राविधिक तालिम प्रदान गर्नु रहेको चौधरी फाउन्डेसनले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सीपयुक्त जनशक्ति विकास गर्न फाउन्डेसन प्रतिबद्ध रहेको बताए । “हामी यस्ता तालिम कार्यक्रमको माध्यमबाट मानिसहरूलाई सीप विकासमा सहयोग गरिरहेका छौँ, ताकी उनीहरू देशभित्रै रोजगार प्राप्त गर्न सकुन् र राम्रो आम्दानी आर्जन गर्न सकुन । विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय कम्पनि एल.जी. इलेक्ट्रोनिक्सको सहकार्य तथा प्रविधिक सहयोगमा यस्ता तालिममार्फत युवाहरूमा सीपको विकासमा सहयोग गर्नु चौधरी ग्रुपको कर्तव्य समेत रहेको उनले बताए । चौधरी ग्रुप नेपालका एल.जी. इलेक्ट्रोनिक्ससँग ४० वर्षभन्दा बढीको व्यावसायिक सम्बन्ध रहेको छ । समारोहमा बोल्दै चन्द्रागिरि नगरपालिकाका मेयर गिरीले चौधरी ग्रुपसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *