प्रतिनिधिसभा बैठकमा सांसदहरुले केके कुरामा सरकारको ध्यानार्कषण गराए ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा विभिन्न पार्टीका सांसदहरुले बालीमा क्षति व्यहोरेका किसानलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल: चितवनको केराखेतीमा भएको क्षतिबारे सरकारको ध्यानार्कषण गराउँदै १५ करोड बराबरको क्षति भएको बताउँदै पीडित किसानलाई तत्काल बीमा रकम उपलब्ध गराउन सरकारसँग माग गरे । उनले गत वर्षको भुक्तानी किसानले पाउनुपर्ने माग गरे । उनले चितवन र खैरनी जिल्लामा मकै, केराखेती र वर्षे धानमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै सम्बन्धित मन्त्रालयले तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डे: गणतन्त्र शासन व्यवस्थामा पनि जनताको जीवनस्तरमा उल्लेख्य सुधार नआएको बताए । किसानहरुले समयमा बीउबिजन र मल प्राप्त गर्न नसकेकातर्फ सांसद पाण्डेले ध्यानाकर्षण गराए । आगामी आवको बजेट कार्यान्वयन गर्न सहज नहुने उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सांसद अम्मरबहादुर थापा: दैलेख जिल्लाको गुरास गाउँपालिकाका राजेश शाही २०७८ सालदेखि बेपत्ता भएका भन्दै उनको खोजीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले अपाङ्गता भएका व्यक्तिहरुका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टीका सांसद रन्जुकुमारी झा: चुरे क्षेत्रको संरक्षणमा सरकारको ध्यानाकर्षण गराउँदै वर्षायाममा हुन सक्ने प्राकृतिक विपत्तिको जोखिमप्रति सतर्क रहन सुझाव दिइन् ।

जनमत पार्टीका सांसद अब्दुल खान: संविधान संशोधनको माग गरे ।

जनता समाजवादी पार्टी नेपालका सांसद रेखा यादव:  एनसेल कर प्रकरणको छानबिनबारे स्पष्ट पार्न गृहमन्त्रीसँग जवाफको माग गराए । उनले युवावर्गलाई विदेसिनबाट रोक्नुपर्छ भनिन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरी:  तराई मधेसमा खोनपानीको समस्यातर्फ आफूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताए ।

नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरी: मनसुनको जोखिममा रहेका भेगका बासिन्दालाई समयमै स्थानान्तरणको प्रबन्ध मिलाउन आवश्यक भएको विचार व्यक्त गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल: स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेका ज्येष्ठ नागरिक र अशक्त अपाङ्गता भएकाको अनलाइन दर्ता नभएको हुँदा पुनः जिल्ला प्रशासनमा धाउनुपर्ने बाध्यताबारे सरकारको ध्यानाकर्षण गराए । उनले राष्ट्रिय परिचयपत्र नहुँदा सामाजिक भत्ता नपाउने अवस्था उत्पन्न हुनहुँदैन भने ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी:  सहकारी अपचलनमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकार चुक्न नहुने बताए ।

आम जनता पार्टीका सांसद प्रभु साह: तराई मधेसमा खानेपानीको समस्याबारे सदन र सरकारको ध्यानाकर्षण गराउँदै चुरे संरक्षणका लागि सबै निकाय सचेत हुनुपर्ने सुझाव दिए ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंह: तराईका समुदायप्रति सरकार र बजेट उदासीन रहेको आरोप लगाए ।

स्वतन्त्र सांसद योगेन्द्र मण्डल:  हुलाकी सडक रङ्गेलीदेखि थाकखोलासम्म बनाउन थालेको पाँच वर्ष पूरा भइसक्दा पनि निर्माणसम्पन्न नभएको गुनासो गरे ।

नेपाली कांग्रेसको सांसद शान्ति विक: भेदभावरहित समाज निर्माणका लागि आह्वान गरिन् । उनले राजनीतिक व्यवस्था परिवर्तन भएता पनि दलित समुदायप्रतिको सोच र व्यवहार परिवर्तन हुन नसक्नु राजनीतिक दलका लागि चुनौतीको विषय भएको बताइन् ।

नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्याल:  प्रतिपक्षको भूमिका निर्वाह गर्दा आफूहरूमाथि सरकारबाट बल प्रयोग भएको आरोप लगाइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *