ललितपुर महानगरद्वारा सहकारीका समस्या बुझ्न वडा सचेतना कार्यक्रम

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्र मातहत रहेका सहकारी सस्थाहरुको बीचमा वडा सचेतना कार्यक्रम सुरु गरेको छ । महानगरपालिकाले हरेक वडामा गएर सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्न गर्दै आएको हो। प्रत्येक वडामा रहेका सहकारी संस्थाका सञ्चालकहरुलाई सहभागि गराएर सचेतना कार्यक्रम सुरु गरिएको महानगरपालिकाले जनाएको छ । सचेतना कार्यक्रममा अहिलेको अवस्थामा सहकारी संस्थालाई कसरी सहज रुपमा सञ्चालन गर्न सकिन्छ र महानगरपालिकाले के गरिराखेको छ भनेर प्रस्तुतिकरण गरिने गरेको छ ।

यस आर्थिक बर्षमा १ देखि १६ वटा वडामा सचेतना कार्यक्रम सञ्चालन गरिसक्ने महानगरपालिकाले जनाएको छ । महानगरपालिका सहकारी शाखाका अधिकृत चन्द्रलाल डंगोलले सहकारी संस्थाका समस्याका बारेमा थाहा गर्ने र कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर छलफल गर्ने उदेश्यले सचेतना कार्यक्रम सुरु गरिएको बताए। हालसम्म ११ वटा वडामा सचेतना कार्यक्रम आयोजना गरिसकेको डंगोलले बताए । ऐनमा भएको व्यवस्था अनुसार वडा सञ्जाल विकास गरी भविष्यमा महानगरीय सञ्जाल गठन गर्ने उनले जानकारी दिए । ललितपुरमा महानगरपालिका मातहत ३१४ संस्था रहेका छन् । जसमध्ये १४ वटा सहकारी संस्था समस्यामा परेका छन्। सदस्यको बचत फिर्ता गर्न नसकेका र महानगरपालिकाको सम्पर्कमा नआएका २ वटा सहकारी संस्थालाई प्रहरी कहाँ लेखिपठाइएको छ । अन्य सहकारी संस्थाका सञ्चालकलाई बचत फिर्ताको कार्ययोजना माग गरिएको छ । सम्पर्कमा रहेका सहकारी संस्थाको हकमा दुबै पक्षबीच सम्झौता गरेर बचत फिर्ताको लागि पहल गर्दै आएको महानगरले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *