जसपा नेपालको मधेशमा ढल्यो सरकार

काठमाण्डौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् । बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो । बुधबार प्रदेशसभामा १०३ सांसद उपस्थित थिए । मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ । विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् । १०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक,एक सिट छ ।

२३ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए । गठबन्धन फेर बदल हुँदा मुख्यमन्त्री यादवले यसअघि चारपटक विश्वासको मत लिँदा पनि सुरक्षित थिए । तर, पाँचौपटक विश्वासको मत लिने बेला सदनमै उनी मुख्यमन्त्री पद गुमाउनुपरेको छ । गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका थिए । उनले बुधबार पाँचौपटक विश्वासको मत लिन सदनमा प्रस्ताव पेश गरेका थिए । तर बहुमतले अस्वीकृत भएको छ । योसंगै मधेशमा साढे ६ वर्षपछि जसपा नेपालको नेतृत्वको सरकार ढलेको छ । अब जनमतको नेतृत्वमा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित अघि बढ्ने तयारी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *