व्यवसायिक योजना र तिर्न सक्ने क्षमताको आधारमा संस्थाले २ करोडसम्म ऋण लगानी गर्नेः अध्यक्ष कासुला

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २४औं स्थापना दिवसको अवसरमा आयोजित समापन कार्यक्रममा बोल्दै अध्यक्ष रामप्रसाद कासुलाले समुदायमा आधारित सहकारी संस्थामा बचत फिर्ताको नभई तरलतामा वृद्धि भएर ऋण लगानीमा समस्या भएको बताएका छन् । उनले संस्थामा पर्याप्त तरलता रहेकाले ऋण लिएर उद्यमी बन्न सदस्यहरुलाई आग्रह गरे । सदस्यहरुको व्यवसायिक योजना र तिर्न सक्ने क्षमताको आधारमा संस्थाले २ करोडसम्म ऋण लगानी गर्ने उनले जानकारी दिए । सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नति नै संस्थाको ध्येय भएकाले ऋण सुविधा लिएर व्यापार व्यवसाय गरी जीवनस्तर उकास्न उनले आग्रह गरे । संस्थाले ४ बर्षे रणनीतिक योजना बनाएको र आगामी असार मसान्त सम्म १ अर्ब ५० करोड कुल कारोबार पु¥याउने संस्थाको लक्ष्य रहेको भन्दै उनले अहिले लक्ष्यको नजिक पुगेको उल्लेख गरे । २ प्रतिशत बढी ब्याजको लोभमा संस्थाका सञ्चालक चिन्दै नचिनी बचत गर्दा भक्तपुरका जनताको पनि सहकारीमा बचत डुबेको उनको भनाई छ । बाहिरका सञ्चालकले सहकारी खोल्ने र स्थानिय व्यक्तिहरुलाई कर्मचारी राखेर कमिशनको प्रलोभनमा बचत संकलन गर्न लगाएकाले अहिले धेरैजना मानिस सहकारीबाट पीडित भएको कासुलाले बताए । यहाँँको बचत लगेर तराई लगायतका केही जिल्लामा जग्गा किनेको र अहिले घरजग्गामा मन्दी आएकाले सदस्यको बचत डुबेको उनको भनाई छ । सहकारी अभियान्ता र नियमक निकायको कम्जोरीका कारण सहकारीमा समस्या आएको उनले बताए । शुभकामना सामुदायिक संस्था भएको र सदस्यको बचतको सुरक्षाको जिम्मा आफुहरुले लिने उनको भनाई छ । सदस्यहरुमाझ सहकारी शिक्षा निरन्तर चलाउन आवश्यक रहेको उनको भनाई छ । संस्था बिग्रनु र सप्रनुमा सञ्चालकहरुको हात रहने भन्दै उनले कतिपय संस्थाका सञ्चालकको स्वार्थले सहकारी क्षेत्रमा समस्या बढेको बताए । संस्थाले नाफालाई मात्र नहेरी समुदायको हितको लागि पनि विभिन्न सामाजिक गतिविधि गर्दै आएको उनले जानकारी दिंए । संस्थाले गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई तहगत रुपमा छात्रवृत्ति प्रदान गर्दै आएको उनले बताए । संस्थाकी व्यवस्थापक रेश्मी श्रेष्ठले संस्थाको समग्र वित्तीय अवस्थाको वारेमा जानकारी दिँदै २०५७ सालमा ७५ जना सदस्य र जनही १० हजार रुपैया शेयर पुँजी गरी कुल ७ लाख ५० हजारबाट संस्था सुरु भएको बताइन् । गत बैशाख मसान्तसम्म शेयर पुँजी १० करोड ७८ लाख ६४ हजार, जगेडा कोष १४ करोड २७ लाख,७० हजार,संस्थागत पुँजी १४ करोड ४२ लाख २५ हजार र अन्य कोषहरु ६१ लाख २४ हजार रहेको उनले बताइन्। संस्थामा कुल बचत १ अर्ब ५ करोड ३७ लाख ३३ हजार र ऋण लगानी १ अर्ब ४५ लाख १८ हजार पुगेको र १० हजार २१० जना सदस्य सहित कुल सम्पत्ति १ अर्ब ४३ करोड ५६ लाख ४८ हजार पुगेको उनको भनाई छ । सदस्यहरुले संस्थाप्रति विश्वास गरी निरन्तर कारोबार गरेका कारण वित्तीय रुपमा सबल बन्दै गएको उनले बताइन् । सामाजिक क्रियाकलाप, सदस्य सन्तुष्टी र चुस्त आन्तरिक व्यवस्थापनका कारण संस्था सबल भएको उनले जनाइन् । सदस्यहरुमा सिपमुलक र आयमुलक तालिम प्रदान गरी उनीहरुको आयस्तर वृद्धिमा संस्थाले सघाउँदै आएको उनले बताइन् । संस्थाले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्न शुभकामना मोबाइल बैकिङ्ग, इटेलर र अन्य सेवाहरुमा सञ्चालनमा ल्याइसकेको र निकट भविष्यमा नै कनेक्ट आइपीएस सुविधा ल्याउने भएको छ । संस्थाले ऋणमा १६ प्रकार र बचतमा २३ प्रकारको प्रडक्ट सञ्चालनमा ल्याएको छ ।

कुल सम्पत्तिमा नियमित बचतको हिसा ५५ प्रतिशत रहेको समेत व्यवस्थापक श्रेष्ठले जानकारी दिइन् । संस्थाका कोषाध्यक्ष नारायणबहादुर बासुककलाले संस्थाले बनाएको कार्यविधि–२०८० अनुसार असल ऋणी छनौट गरेको बताए । ऋण लिएको मितिबाट नै ऋणको साँवाब्याज नियमित भुक्तानी गर्ने सदस्यहरुलाई असल ऋणीको रुपमा सम्मान गर्ने गरिएको उनले उल्लेख गरे । कार्यक्रममा ७ जना असल ऋणीहरुलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । १० लाख भन्दा माथी ऋण लिएर २ बर्षसम्म नियमित रुपमा किस्ता तिर्ने ऋणीहरुलाई असल ऋणीको रुपमा सम्मान गर्ने र १ प्रतिशत ब्याज छुट एवं २ लाखसम्म बिनाधितो इजी लोन दिने उनले बताए । संस्थाबाट ६६८ जनाले ऋण लिएको र त्यस मध्ये ४९२ जनाले नियमित ऋण भुक्तानी गर्दै आएका छन् । कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष वालमुकुन्द सुवालले संस्था वित्तीय रुपमा सुरक्षित रहेको र शेयरपुँजी भन्दा जगेडा कोष बढी रहेको बताए । संस्थालाई सबल बनाउन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न उनको आग्रह छ । संस्थाका निर्वतमान अध्यक्ष न्हुच्छेकुमार त्वायनाले समुदायमा शुभकामना उत्कृष्ट संस्थाको रुपमा स्थापित भइसकेको बताए । कार्यक्रममा उपाध्यक्ष निर्मला सुवालले स्वागत मन्तब्य राखेकी थिइन भने सचिव पुष्पलाल तिमिलाले कार्यक्रम सञ्चालन गरेका थिए । संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरी २४ औं स्थापना दिवस मनाएको हो । सो अवसरमा संस्थाले रजत वर्षको लोगो समेत लोकार्पण गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *