जाउलाखेल ग्रुप अफ इन्ड्रस्टिजको ६ महिनामा ५ अर्बको व्यापार

काठमाडौं । गोल्डेन ओक, रुस्लान भोड्का, कालापथ्थर, ब्लू डाइमन्ड जिन र बर्डबाइजर बियर लगायत २१ ब्राण्डका मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने जावलाखेल ग्रुप अफ इन्ड्रष्टिजको कम्पनीले ६ महिनामा ५ अर्ब ११ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । आर्थिक वर्ष २०८०।८१ को पहिलो ६ महिनामा ग्रुपले ५ अर्ब ११ करोडभन्दा बढी व्यापार गरेको हो । जावलाखेल ग्रुप अफ कम्पनीजको ४ डिस्टिलरी र १ ब्रुअरीको एकमात्र अधिकृत विक्रेता जेजीआई डिस्ट्रिब्युसन प्रालिले आर्थिक वर्ष २०७९।८० मा १३ अर्ब ६२ करोडको मदिरा व्यापार भएको थियो । जुन आर्थिक वर्ष २०७८।७९ को भन्दा ३ अर्ब ३८ करोड रुपैयाँले कम हो । ६ महिनाको कारोबारलाई वार्षिकीकरण गर्दा हुने आम्दानी अघिल्ला ४ आर्थिक वर्षको भन्दा कम हुने देखिन्छ । जाउलाखेल ग्रप अफ इन्डस्ट्रिजकै एक इकाइ रहेको जेजीआई डिस्ट्रिब्युसनले ग्रुपको विजय डिस्टिलरी, एशियन डिस्टिलरी, हिमालयन डिस्टिलरी र रोलिङरिभर डिस्टिलरी तथा राज ब्रुअरीले उत्पादन गर्ने मदिरा बजार पठाउँछ । सन् २०१६ मा स्थापित कम्पनीको देशभर ४ वेयरहाउस र १८७ डिलर छन् ।

जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज ४० यूपीआई ब्राउन स्पिरिट सेग्मेन्टमा देशभर बलियो उपस्थिति जनाएको कम्पनी हो । कम्पनीको गोल्डेन ओक सबैभन्दा चर्चित छ । गत आर्थिक वर्षमा कम्पनीको करिब ६० प्रतिशत आम्दानी गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजर तथा हिमालयन ब्रान्डिलगायत ब्राउन स्पिरिटबाट भएको थियो । यस्तै २२ प्रतिशत कमाई भोड्का तथा जिनलगायत ह्वाइट स्पिरिटबाट र १९ प्रतिशत बियरबाट हुने गर्छ । उत्पादनका आधारमा कम्पनीले गोल्डेन ओक र ब्लु डायमन्ड जिनले दुईतिहाई आम्दानी गर्छ । विजयकुमार शाहले सन् १९७३ मा स्थापना गरेको जावलाखेल डिस्टिलरी ग्रुपको एक हिस्सा हो । जावलाखेल डिस्टिलरी ग्रुपमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज, ४ डिस्टिलरी, १ ब्रुअरी, १ अनुसन्धान इकाइ र जेजीआई डिस्ट्रिब्युसन गरी ८ कम्पनी छन् । जेजीआई डिस्ट्रिब्युसनले कुल ४ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराउँदा दीर्घकालको ७७ करोड ८२ लाख रुपैयाँका लागि इक्राएनपी एल डबल बी रेटिङ सुनिश्चित गरेको छ भने ३ अर्ब ५५ करोडको अल्पकालीन कर्जाका लागि इक्राएनपी ए फोर प्लस पुनः प्रमाणित गराएको छ । यसअघि २ करोड ९२ लाखको दीर्घकालीन र ४ अर्ब ३० करोडको अल्पकालीन कर्जाका लागि कम्पनीले यही रेटिङ पाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *