मदिरा उत्पादक श्री डिष्टिलरीले आईपीओ जारी गर्दै

काठमाडौं । श्री डिष्टिलरीको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । श्री डिष्टिलरी लिमिटेडको ९ लाख ६० हजार कित्ता सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आईपीओका लागि छुट्टाएको छ । आईपीओ निष्कासनका लागि २०८१ साल जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ। सम्झौतापत्रमा श्री डिष्टिलरीका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले हस्ताक्षर गरे । हस्ताक्षरपछि श्री डिष्टिलरीका संचालक न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए ।

सम्झौतासँगै कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गर्ने बताइएको छ । प्रक्रिया पूरा गरी चाँडै नै कम्पनीले आईपीओ जारी गर्ने बताएको छ । श्री डिष्टिलरी देशकै पुरानो र प्रतिष्ठित मदिरा उत्पादकमध्ये एक हो । सन् १९८५ मा स्थापना भएको श्री डिष्टिलरी उच्च गुणस्तरको मदिरा उत्पादनका लागि प्रख्यात रहेको छ । यस कम्पनीको सुरुवाती मुख्य ब्रान्डहरुमा किंग्स प्राइड ह्विस्की, माउन्ट एभरेस्ट ह्विस्की, बन्ड ब्ल्याक लेबल, ओएसीस एक्स्ट्रा ड्राइ, श्री स्पेशल नम्बर वान, दुधिया स्पेशल, बुलेट, श्री दुधिया, सगुन लगायत रहेका थिए । कम्पनीका हालका ब्रान्डहरुमा प्रियसी सोफी, प्रियसी दुधिया, सगुन एप्पल, सगुन ग्रिन एप्पल, सगुन एक्स्ट्रा, जोश, स्पेशल नम्बर वान रहेका छन् । यस्तै कम्पनीले चाँडै नै ओएसीस, अल्फा ब्लु र बोन्ड ब्ल्याक लेबल गरी तीन नयाँ ब्रान्डलाई बजारमा ल्याउने तयारी गरिरहेको छ । यस कम्पनीको स्प्रिट लाइसेन्स रहेको छ भने आईपीओ निश्कासनपछि कम्पनीले उच्च गुणस्तरको स्प्रिट उत्पादनमा पनि काम गर्ने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *