सत्ता समीकरणमा कुनै समस्या नभएको प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।

सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले रास्वपाका मन्त्रीहरूले राजीनामा दिन लागेको भन्ने प्रश्नमा उनले सत्यता नरहेको बताएका छन् । प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखेको असन्तुष्टि वास्तविक नभएको बताउदै सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् । उनले भने- ‘विरोध जस्तो मात्रै गर्नुभएको छ । साँच्चै गर्नुभएको छैन । उथलपुथल गर्ने बेला भएको छैन । यो जान्छ । राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा आउने र्‍युमर (अफवाह)हरूमा सत्यता छैन ।’

रास्वपाका नेताहरूले राजीनामा पत्र गोजीमा राखेर हिँडेको भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै हो । रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर । त्योचाहीँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला ।’

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाको अवसरमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफूले राजीनामा पत्र बोकेर हिँडेको भन्दै सरकारलाई दिएको समर्थको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको बताएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *