स्वस्थ रहन आँप कति खाने ?

काठमाडौँ । स्वदेशी आँप नेपाली बजारमा आउने बेला भएको छ । तर सिजन अगावै र पछिसम्म पनि बजारमा रसायनको प्रयोग भएका आँपहरू पाइन्छ । यस्ता आँपले स्वास्थ्यमा हानी पुर्‍याउने विज्ञहरू बताउँछन् । रसायनयुक्त आँप खाँदा फुड पोइजनिङ, पेट दुख्ने, झाडापखाला लाग्ने लामो समयपछि क्यान्सरसम्म हुने विभिन्न अध्ययनले औँल्याएको उनीहरूको भनाई छ । यस्तो अवस्थामा रसायनमुक्त आँप पहिचान गर्नुपर्ने जानकारहरूले सुझाएका छन् । खाद्य स्वच्छता विशेषज्ञ निर्भीक श्रेष्ठका अनुसार कृत्रिम तरिकाले पकाएको आँपमा ‘क्याल्सियम कार्बाइड’ नामक रसायन प्रयोग गरिएको हुन्छ । यसले स्वास्थ्यमा एकैपटक असर नदेखिए पनि ‘स्लो पोइजन’ को रूपमा काम गर्ने उनको भनाई छ । लामो समयसम्म ‘क्याल्सियम कार्बाइड’ खानाले क्यान्सर समेत गराउने उनको जिकिर छ । आँप आफैमा भने पोषणको दृष्टिकोणले भरिपूर्ण हुन्छ । आँपमा भिटामिन सी, भिटामिन ए, भिटामिन ई, फोलेट, भिटामिन बी ६ का साथै कपर, म्याग्नेसियम जस्ता खनिज पाइन्छन् । श्रेष्ठका अनुसार प्राकृतिक रूपले पाकेको आँपको तुलनामा रासायनिक तरिकाले पकाएको आँपमा भिटामिन ए, भिटामिन सी र अन्य पोषक तत्त्वको मात्रा कम हुन्छ । रसायन प्रयोग गरी पकाएका र प्राकृतिक रूपमा पाकेको आँपहरू रङ्ग, बास्ना, स्वादका आधारमा छुट्याउन सकिने उनी बताउँछन् । श्रेष्ठका अनुसार कृत्रिम र प्राकृतिक रूपमा पाकेको आँप पहिचान गर्ने केही आधारः
प्राकृतिक रूपले पाकेको आँपभन्दा रसायन प्रयोग गरिएको आँप धेरै चम्किलो र हेर्दा लोभलाग्दो देखिन्छन् । हल्का पहेँलो र हरियो रङ्गको आँप प्राकृतिक रूपले पाकेको हुन्छ । बढी गढा रङ्गको आँपमा कृत्रिम रूपमा अर्थात् केमिकल प्रयोग भएको हुन्छ ।
प्राकृतिक रूपले पाकेको आँपमा धेरै धब्बाहरू हुँदैनन्, तर रसायनले पकाइएको आँपमा कालो र सेतो विभिन्न धब्बाहरू हुन सक्छ ।
केमिकल प्रयोग भएको आँपको स्वाद पनि फरक हुन्छ । प्राकृतिक रूपमा पाकेको आँप स्वादिलो, रसिलो हुन्छ । तर कृत्रिम रूपले पाकेको आँप कम गुलियो र कम स्वादिष्ट हुन्छ ।
रसायन प्रयोग भएको आँप बास्ना नहुने वा कम बास्ना हुन्छ । प्राकृतिक रूपमा पाकेको आँपबाट मिठो बास्ना आउँछ ।
रसायन प्रयोग भएको आँप काट्दा गुदीको रङ्ग सामान्य आँपभन्दा फरक देखिन्छ । कतै बढी पाकेको अर्थात् पहेँलो कतै काँचै अर्थात् हरियो हुन्छ ।
त्यसैले विश्वासिलो ठाउँबाट आँप खरिद गर्न उनी सुझाउँछन् । बजारबाट खरिद गरी ल्याएको आँप करिब १५ मिनेट पानी भिजाएर खाँदा केही हदसम्म रसायन कम गर्न सकिने उनको भनाई छ । रसिलो, गुलियो मानेर आँप धेरै खाँदा कहिलेकाहीँ स्वास्थ्यमा समस्या पनि देखिन सक्छ । बालबालिका, वृद्धवृद्धा र पाचन शक्ति कमजोर भएका व्यक्तिले दैनिक एक–दुई चानादेखि एउटा आँप खाना जानकारहरू सुझाउँछन् । एकै पटक खाँदा समस्या हुन सक्ने भएकाले आफूले आँप खाँदा विचार गरेर खान खाद्य स्वच्छता विशेषज्ञ निर्भीक श्रेष्ठको सुझाव छ । मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा।दीपक मल्लले मधुमेह भएका बिरामीले धेरै आँप खाँदा ‘सुगरको लेबल’ बढ्ने भएकाले विचार गरेर खाना सुझाएका छन् । ‘सुगर भएका बिरामीले आँप, मेवा उपभोग गरेमा सुगरको लेबल ह्वात्तै बढ्न सक्छ । यसले समस्या निम्तिन्छ,’ उनले भने, ‘त्यसैले सुगरका बिरामीले आँप खाँदा एक दुई–टुक्रा मात्र खानुपर्छ र खाइसकेपछि पनि केही समय बाहिर हिँडडुल गर्नुपर्छ । यसले क्यालोरी कम हुन्छ, सुगरको लेबल कन्ट्रोलमा रहन्छ । नेपाली उत्पादनले माग धान्न नसकेर बर्सेनि आँपको आयात हुन्छ । नेपाली उत्पादन र आयातित आँप गरी देशभरमा करिब ५ लाख मेट्रिक टन खपत भएको देखिन्छ । नेपालमै करिब साढे चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन हुन्छ भने बर्सेनि करिब २० हजार मेट्रिक टन आँप आयात भएको सरकारी तथ्याङ्क छ । नेपालमा भारतबाट बढी मात्रामा आँप आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । नेपालमा उत्पादन हुने आँप र आयात हुने आँपको तुलना गर्ने हो भने आँप उत्पादनमा थप केही मात्रामा जोड दिएमा पनि आँप आयात गर्न नपर्ने अवस्था सक्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *