मामाको योजनामा भाञ्जाको २ करोड रकम लुटियो

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित डिल्ली राउतको घरबाट लुटपाट भएको प्रकरणमा मामाको योजनामा भाञ्जाको घरबाट २ करोड रुपैयाँ लुटिएको घटनामा प्रहरी पनि जोडिएको खुलेको छ । पक्राउ परेकामध्ये एक जना प्रहरी हवल्दार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राउतका मामा कुलबहादुर खत्रीसहित चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जसमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का ३० वर्षीय सुजन रसाइली, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–२ का ३१ वर्षीय भीमबहादुर तामाङ, सोही ठाउँका ३८ वर्षीय कृष्णबहादुर बोहरा र ओखलुढंगाको मानेभन्ज्याङ गाउँपालिका–३ का ३६ वर्षीय मुनाराज राई छन् । उनीहरुमध्ये बोहरा नेपाल प्रहरीका हवल्दार हुन् । उनी अहिले सशस्त्र प्रहरी गण महाराजगञ्जमा कार्यरत छन् । भाइले क्रोएसियाबाट भिसा पठाउने र डिल्लीले नेपालमा विभिन्न व्यक्तिसँग नगदै बुझेर विदेश पठाउने गरेको जानकारी उनका मामा कुलबहादुरलाई थियो । लुटपाट गर्ने उद्देश्यले कुलबहादुरले सुजनलाई योजना सुनाएका थिए । वैदेशिक रोजगारीकै क्रममा कुलबहादुर र सुजनको चिनजान भएको थियो । सुजन ४ कात्तिक २०७६ मा जिल्ला प्रहरी परिसर काठमाडौंबाट नक्कली सुन देखाएर ठगी गरेको कसुरमा र १२ जेठ २०८० मा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेर छुटेका व्यक्ति हुन् ।

कुलबहादुरको योजना सुजनले भीमबहादुरलाई सुनाए । त्यसपछि प्रहरी हवल्दार कृष्णबहादुर बोहरा पनि यसमा सहभागी भएका प्रहरी स्रोतको दाबी छ । भीमबहादुर र प्रहरी हवल्दार कृष्णबहादुरको घर सिन्धुपाल्चोकमा एकै ठाउँ हो । उनीहरु सिन्धुपाल्चोकमा सँगै पढेका साथी हुन् । भीमबहादुरले योजना सुनाएपछि दिउँसो केहीबेर छुट्टी लिएर ४ असारमा दधिकोट पुगेर हवल्दार कृष्णबहादुर समेतको योजनामा लुटपाट भएको प्रहरीको दाबी छ । घरधनी डिल्लीलाई विश्वास दिलाउन सीबीआईको प्रहरी भन्दै हवल्दार कृष्णबहादुरलै आफ्नो आईडी कार्ड देखाएका थिए । सँगै उनीहरुले अर्का एक जनाको नाममा प्रहरीको नक्कली आईडी कार्ड समेत बनाएर लगेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । खानतलासी गर्न आएको भन्दै डिल्लीलाई एउटा कागजमा हस्ताक्षर गर्न लगाएर उनीहरुले ४ असार दिउँसो १ बजे २ करोड रुपैयाँ लुटेका थिए । लुटिएको रकम माकलबारीस्थित भीमबहादुर कोठामा लगेर बाँडफाँट गरेका थिए ।

करिब आधा रकम लुटको योजना बनाउने डिल्लीका मामा कुलबहादुरले लगेका थिए । बाँकी रकममध्ये ३० लाख सुजनले र बाँकी ३ जनाले २० लाख रुपैयाँको दरले लगेका थिए । रकम भागबण्डा गरेपछि त्यही दिउँसो हवल्दार कृष्णबहादुर ड्युटीमा खटिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । दिउँसो ३ बजेको ड्युटी गर्न उनी पुगेको प्रहरी स्रोतले जानकारी दियो । हवल्दार कृष्णबहादुर अहिलेसम्म १३ पटकसम्म कारबाही भोगेका प्रहरी कर्मचारी हुन् । २०६२ साल भदौमा प्रहरी जवानमा भर्ती भएका कृष्णबहादुरले २०८० सालमा मात्रै तीन पटक कारबाही भागेको पाइएको छ । २०८० मा मात्रै एक पटक प्रतिकुल राय भन्दै रेकर्डमा जनिने गरी कारबाही गरिएको थियो । २०८० मै नसियत दिइएको थियो भने २०८० मै तलवको सुरु स्केलमा घटुवा गरिएको खुलेको छ । त्यसभन्दा अघि विभिन्न अनुशासनहीन काम गरेको, प्रहरी आचरण विपरितको काम गरेको भन्दै १० पटकसम्म कारबाही गरिएका व्यक्ति रहेको खुलेको छ । जागिरको खाएको २ वर्षबाटै २०६४ देखि उनी कारबाहीमा पर्न थालेका थिए । लुटपाटमा संलग्न ३ जना पक्राउ परिसकेपछि सोमबार महाराजगञ्जको प्रहरी कार्यालयबाटै हवल्दार कृष्णबहादुरलाई पक्राउ गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *