सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुस तयार

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुस तयार भएको बताएका छन् । इरानको राजधानी तेहरानमा सोमबार रुसका उपविदेशमन्त्री एन्ड्रिई रुडेन्कोसँगको भेटमा उनले उक्त जानकारी दिएको परराष्ट्रमन्त्री श्रेष्ठले जनाएका हुन् । रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुस तयार छ, तर मोडालिटी तय गर्नुपर्ने काम बाँकी रहेको भेटमा रुसी उपविदेशमन्त्रीले बताउनुभयो, इरानबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उनले भने । रुसले युक्रेनसँगको युद्धमा मारिएका नेपालीलाई क्षतिपूर्ति उपलब्ध गराउन सहमत भएको र सातजनाको प्रक्रिया अगाडि बढेको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए ।

एसिया कोअप्रेसन डायलग (एसीडी)को १९औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी परराष्ट्रमन्त्री श्रेष्ठ इरान गएका थिए । एसीडीको साइडलाइनमा उनले रुसका उपविदेशमन्त्रीसँग भेटवार्ता गरेका हुन् । यसअघि उनले रुसका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गरी रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्ने विषयमा कुराकानी गरेका थिए । रुसी सेनामा कति नेपाली छन्, अवस्था कस्तो छ, जानकारी दिनुपर्‍यो । ज्यान गुमाएकाहरूको नेपालमा रहेका परिवारले परम्परागत रूपमा अन्तिम संस्कार गर्न पाउनुपर्‍यो । मृतकको परिवार र घाइतेलाई क्षतिपूर्ति दिनुपर्‍यो र रुसी सेनामा भर्ती भएका नेपालीको परिस्थितीलाई ध्यान दिएर सम्झौता खारेज गरेर फिर्ता पठाउनुपर्छ भन्ने कुरा मैले राखेको छु । नेपाली नागरिकलाई परम्परागत रूपमा सम्झौता भएका देशबाहेक विदेशी सेनामा भर्ना वा सेवा गर्ने अनुमति नदिइएको जानकारी दोहोर्‍याएको समेत परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *