इंग्ल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा

काठमाडौं । भारत दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डविरुद्ध ६८ रनको जित निकाल्दै आईसीसी ट्वान्टी–२० विश्वकप–२०२४ को फाइनल प्रवेश गरेको छ । भारत यसअघि सन् २००७ र २०१४ मा विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । २००७ मा भएको ट्वान्टी–२० विश्वकपको उपाधि जित्दा २०१४ मा भने भारत श्रीलंकासँग निराश बनेको थियो । बिहीबार गुयनामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले १६.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमात्र इंग्ल्यान्डका ह्यारी ब्रुकले २५ रन बनाए । कप्तान जस बटलरले २३, जोफ्रा आर्चरले २१ र लियम लिभिङस्टोनले ११ रन थपे । यसबाहेक, इंग्लिस टिमका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । इंग्ल्यान्डलाई सस्तैमा रोक्न भारतका स्पिनर हाबी बने । भारतका अक्षर पटेल र कुलदीप यादवले समान तीन विकेट लिए । जसप्रित बुमराहको नाममा एक विकेट रह्यो । त्यसअघि कप्तान रोहित शर्माले अर्धशतक बनाउँदा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रनको योगफल खडा गरेको थियो । भारतका कप्तान तथा ओपनर ब्याटर रोहितले ५७ रन बनाए । उनले ३९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । जारी विश्वकपमा रोहितको यो तेस्रो अर्धशतक हो । उनले यसअघि सुपर–८ को अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध ९२ रन बनाएका थिए । इंग्ल्यान्डविरुद्ध भारत ४०–२ को अवस्थामा हुँदा रोहितले तेस्रो विकेटका लागि सूर्यकुमार यादवसँग ७३ रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए ।

अर्धशतक बनाउन तीन रनले चुकेका सूर्यले ३६ बलमा चार चौका र दुई छक्कासहित ४७ रन थपे । यसबाहेक, हार्दिक पन्ड्याले २३ र रविन्द्र जडेजाले १७ रन जोडे । भारतका अर्का ओपनर विराट कोहली भने चल्न सकेनन् । नौ बलमा नौ रन बनाएर आउट हुनुअघि विराटले एउटामात्र छक्का प्रहार गरे । यसअघि सुपर–८ को अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पनि विराट ‘डक’ भएका थिए । इंग्ल्यान्डविरुद्ध भारतका शिवम दुवे ‘गोल्डेन डक’ भए । ऋषव पन्तले चार रन थप्दा अक्षर पटेलले १० रन थपे । अर्शदीप सिंह एक रनमा अविजित रहे । इंग्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए । रिस टोप्ली, जोफ्रा आर्चर, साम करन र आदिल राशिदले समान एक विकेट हात पारे । वर्षाले प्रभावित बनेको खेल निर्धारित समयभन्दा करिब एक घण्टापछि सुरु भएको थियो । त्यसपछि पनि भारतले आठ ओभरमा ६५ रन बनाउँदा पानी परेपछि खेल पुनः डेढ घण्टा रोकिएको थियो । प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रूपमा सेमिफाइनल आएका थिए । भारतले अब उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार राति नेपाली समयअनुसार ८ः१५ बजेदेखि सुरु हुनेछ । यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *