नेपाल धितोपत्र बोर्ड अध्यक्षको प्रक्रिया रद्द

काठमाडौं । नेपाल धितोपत्र बोर्डको शुक्रबार एक सूचना जारी गर्दै अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि बनेको सिफारिस समितिले अध्यक्ष छनोटको प्रक्रिया रद्द गरेको छ । समितिले गत वर्ष फागुन १६ गते सूचना निकालेर अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो । आज समितिले एक सूचनामार्फत त्यसयताका सबै प्रक्रियाहरू रद्द गरिएको बताएको हो । बोर्डको अध्यक्षका लागि तत्कालीन बिमा समिति (हाल नेपाल बिमा प्राधिकरण)का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, नेप्सेका प्रमुख कार्यकारी अधिकारी (सीईओ) कृष्णबहादुर कार्की, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र व्यवसायी सन्तोषनारायण श्रेष्ठ सर्टलिस्टमा परेका थिए ।

उनीहरूमध्ये मुक्तिनाथ र व्यवसायी सन्तोषनारायण मात्र प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भएका थिए । प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी नभएका चापागाईं, कार्की र अधिकारीलाई समितिले दोस्रोपटक असार ५ गतेका लागि बोलाएको थियो । तर, उनीहरू दोस्रोपटक पनि सहभागी नभएपछि समितिले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो । महान्यायाधिवक्ताको कार्यालयले ऐनमा भएको व्यवस्थाअनुसार अगाडि बढ्न राय दिएको थियो । धितोपत्र ऐनमा तीन जनाको नाम सिफारिस गर्न सकिने व्यवस्था छ । सरकारले गत वर्ष माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थसचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य थिए । समितिमा संयोजक श्रेष्ठ र सदस्य निरौलाले पाँचै जनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गर्न सकिने प्रस्ताव गरेका थिए । तर, अर्थसचिव मरासिनी उनीहरूको प्रस्तावमा सहमत नभएपछि दुईपटक बसेको समितिको बैठकले अध्यक्ष सिफारिस गर्न सकेन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *