वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने ः प्रधानमन्त्री

काठमाडौं । शुक्रबार काठमाडौंमा जगतबहादुर बोहराको जीवनी तथा संस्मरण लोकार्पण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् । वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए । नकारात्मक भाष्य चिर्ने र जनताका पक्षमा अझ राम्रा काम गरेर आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने उनले उल्लेख गरे । क्रान्ति र परिवर्तनका उपलब्धि संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको प्रधानमन्त्री प्रचण्डले बताए । देशको परिस्थितिबारे नकारात्मक भाष्य सिर्जना गरिएको उनको भनाइ छ । उक्त भाष्य चिरेर अघि बढ्नुपर्ने उनले बताए । कम्युनिस्ट र सबै लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भएर नकारात्मक भाष्य चिर्न लाग्नुपर्नेमा उनले जोड दिए । उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको भनाइ ः
क्रान्ति र परिवर्तनलाई यी उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न यति बेला सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ । सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी, लोकतान्त्रिक एवं प्रगतिशिल शक्तिको साथ र सहयोग रहने विश्वास व्यक्त गर्न चाहन्छु । अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्यबारे, जनतामा देखापरेको मनोविज्ञानबारे हामी सबैले नै जिम्मेवारी महसुस गर्नुपर्ने हुन्छ । चाहे त्यो २०४६ सालको जनआन्दोलनको कुरा गरौँ वा जनयुद्ध र जनआन्दोलनको संयोजनपछि हामी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको कुरा गरौँ । देशमा केही पनि भएको छैन भन्ने भाषा गलत हो । धेरै भएको छ । तर, जनताको आशा र अपेक्षाअनुसार अझै भएको छैन । त्यो पनि सत्य हो । तर, यहाँ एउटा प्रवृत्ति, अलि बढी नै नकारात्मक मात्रै कुरा गर्न रमाउने प्रवृत्ति, कहीँ न कतै यसलाई अघि बढाउन खोजिएको छ । हामी कम्युनिस्टहरूको आवश्यकता सबै लोकतान्त्रिक शक्तिहरूको पनि आवश्यकता के हो भने हामी एकताबद्ध भएर त्यो भाष्य चिर्नतिर लाग्नुपर्ने हुन्छ । हामीले जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरूको पनि र जनतालाई निराश हुन नदिने गरीकन सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्छ । तर, यहाँ जनतालाई यहाँ केही छैन, केही भएन भनेर प्रशिक्षित गर्ने, त्यसखालको सन्देश दिन खोजिएको छ, त्यसलाई रोक्नुपर्ने हुन्छ । हामीले त्यो नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरू गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्छ । हामी एकताको प्रक्रियातिर अघि बढी नै सकेका छौँ । यसलाई सफल पार्न हामी सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *