हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह बिमा प्राधिकरण पुगे

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विजयबहादुर शाहले आफूलाई अव्यावसायिक ढंगले पदमुक्त गरेको भन्दै शुक्रबार बिमा प्राधिकरणमा निवेदन दिएका छन् । बिमा कम्पनीहरुको नियामक निकाय प्राधिकरणका प्रवक्ता शुसिल सुवेदीले शाहले प्राधिकरणमा निवेदन दिएको जानकारी दिए। ‘हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको निवेदन दर्ता भएको छ, अब कानुनअनुसार अगाडि बढ्छ, ‘प्रमुख कार्यकारी अधिकृतको नियुक्ति तथा पदमुक्त हुने प्रकृया कानुनसम्मत हुनुपर्छ । शाहलाई बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले विहीबारदेखि लागू हुने गरी शाहलाई पदमुक्त गरेको थियो । शाहले कम्पनीले गैरब्यावसायिक ढंगले ब्यवहार गरेको भन्दै नियामकमा निवेदन दिएको बताए । ‘ग्रेसफुल एक्जिट भएन । शाहले आफू अमेरिका भ्रमणमा रहेको बेला हठात् पदमुक्त गरिएको बताए । लिडरशिप एकेडेमी नेपाल र अमेरिकाको टेक्सास राज्यको हिउस्टनस्थित राइस युनिभर्सिटी बिजनेश स्कुलले आयोजना गरेको एडभान्स लिडरशिप ट्रेनिङमा सहभागिताका लागि अमेरिका गएका थिए। यस्तै, शाहले नेपाल बिमक संघलाई पनि आफनो ग्रेसफुल एक्जिट नभएको गुनासो गरेका छन् ।

बिमक संघले पनि यस्ता नियुक्ति तथा पदमुक्त हुने प्रकृया कानुनसम्मत हुनु पर्ने बताएको छ । बैक तथा बिमा कम्पनीहरुमा ब्यवस्थापन समिति र उच्च तहका कर्मचारीबिच विवाद आउनु स्वभाविक भए तापनि नियुक्ति तथा पदमुक्त भने प्रकृयागत ढंगले नै हुनुपर्ने अर्का एक बिमा कम्पनीका सीइओले नाम नलेख्न अनुरोध गर्दै भने । ‘काम गर्दा विवाद हुनसक्छ तर नियुक्ति तथा पदमुक्त कानुनी प्रकृयाबाटै हुनुपर्छ । यसमा नियामक निकायले पनि हेर्ला नि । बिमा ऐन २०७९ को दफा ५७ को उपदफा ३ मा सञ्चालक समितिले सीईओको कार्यसम्पादन सन्तोषजनक नभएमा जुनसुकै बखत पदबाट हटाउन सक्ने व्यवस्था छ । तर, पदबाट हटाउनुअघि सफाइ पेस गर्ने मौका दिनुपर्ने प्रावधान छ । सञ्चालक समितिले सफाइको मौका नदिई अचानक हटाइएको गुनासो शाहको छ । २०७८ फागुन १ गते ४ वर्षका लागि नियुक्ति पाएका शाहको कार्यकाल पूरा हुन डेढ वर्षभन्दा बढी अवधि बाँकी छँदै उनलाई सञ्चालक समितिको बुधबारको बैठकले बिहीबारदेखि लागू हुने गरी पदमुक्त गरि दिएको हो । शाहले यसअघि नेपाल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्समा सीईओ भएर काम गरिसकेका छन्। बिमा क्षेत्रमा ३५ वर्षभन्दा बढीको अनुभव भएका शाह नेपाल बीमक संघको दुई कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन् । चार्टर्ड एकाउन्टेन्ट शाहले एमबीएसम्मको अध्ययन गरेका छन् । उनी बिमा क्षेत्रमा भेट्रान सीईओ मानिन्छन् । सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृतमा अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्म निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *