पुष्पलालमा केन्द्रित भएर कम्युनिस्ट एकता गरौँ ः प्रधानमन्त्री

काठमाडौं । शनिबार काठमाडौंमा पुष्पलाल जन्मशताब्दी समारोहमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिस्टका निम्ति एकताको आधार पुष्पलाल हुन सक्ने बताएका छन् । पुष्पलालको चर्चा गर्दा गम्भीर हुन आवश्यक रहेको उनले उल्लेख गरे । उनले पुष्पलालमा केन्द्रित भएर कम्युनिस्ट एकताको कोसिस गर्न आग्रह गरे । पुष्पलालका बारेमा पुनः एकपटक अध्ययन हुन, चिन्तन र मनन गर्न आवश्यक रहेको उनले बताए । दोषजति अरूको थाप्लोमा हालेर आफू दूधले नुहाएको भन्ने प्रवृत्तिले कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन नदिएको उनको भनाइ थियो ।
उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले हामी सबै कम्युनिस्टहरूको निम्ति एकताको आधार पुष्पलाल नै हुन सक्ने म देख्छु । त्यसकारण पुष्पलालको चर्चा गर्दा हामी धेरै गम्भीर हुन पनि जरुरी छ ।

किनकि, यो ऐतिहासिक छ । यो दूरगामी छ । यो रणनैतिक महत्त्वको पनि छ । हामी अन्त गएर केन्द्रित हुन खोज्यो भने कम्युनिस्ट पार्टी सबैलाई एक ठाउँमा ल्याउन धेरै गाह्रो छ । प्रयास त हामीले गर्‍यौँ । मेरै कुरा गर्‍यौँ भने ०७४ को निर्वाचनअघि कम्युनिस्टहरूलाई एकताबद्ध गरेर दुईतिहाइ बहुमत ल्याएर समाजवादको आधार निर्माण गर्न सकिन्छ भन्ने मान्यताबाट अघि बढेर एकता त गरियो, तर त्यो एकता टिकाउन सकिएन, टिकेन । हामी त्यसकै वरिपरि सारा कम्युनिस्ट पार्टीलाई ल्याउन सकौँला भन्ने सोचिएको थियो, तर सकिएन । त्यहाँ कहीँ न कहीँ सीमाहरू रहे । हामीले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोसिस गरौँ । त्यसो गरे त्यो एकता दिगो हुन्छ । किनभने, त्यो दर्शनमा, सिद्धान्तमा आधारित हुनसक्छ । निष्ठा र राजनीतिक उद्देश्यमा आधारित हुनसक्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *