भेला, छलफललाई स्वाभाविक रूपमा लिनुपर्छ ः नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महाधिवेशनमा भेला, छलफल हुनुलाई अन्यथा लिन नहुने बताएका छन् । उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा नेता–कार्यकर्ताबीच भेटघाट, छलफल हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका सबै नेता–कार्यकर्ताले एकताबद्ध भएर महाधिवेशन सम्पन्न गर्ने संकल्प लिएको उल्लेख गरे । महाधिवेशनमा गुटबन्दी नहोस् भन्ने नेता–कार्यकर्ताको चाहना प्रशंसनीय रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा माधव नेपालले पद भएन भने त कुनै संगठन नै रहँदैन । तपाईंको पत्रकार संगठनमा छैन पदहरू ? कम्युनिस्ट पार्टीमा पद चाहिँदैन ? त्यसो हुनाले पदको व्यवस्थापन स्वाभाविक रूपमा हुन्छ । सानो पार्टी हुन्छ, थोरै पदले काम चल्छ । पार्टी ठूलो हुँदै जान्छ, धेरै पदको आवश्यकता पर्छ । यसरी बुझे पनि भयो । त्यसो हुनाले पदको विषयलाई अन्य हिसाबले लिन जरुरी छैन । तपाईंले दोस्रो सोध्नुभयो, कहाँ–कहाँ भेला भइरहेको छ ? अनि, भेला नभएर के गर्छन् त, घरमा नै लुकेर बस्छन् त कोही ? बस्छन्, कुराकानीहरू हुन्छन् । छलफल हुन्छ । कोही रेस्टुराँमा जान्छन्, कोही होटेलमा जान्छन् । छलफल गर्दछन् । चिया खान्छन् । भेटघाट हुन्छ । यत्रा कार्यकर्ता छन् हामीकहाँ । देशभरिका कार्यकर्ता आउँदा त झन् ज्यादा होटेलका होटेलहरू पनि भरिएका होला । त्यो होटेलमा किन गए भन्नु त भएन । तपाईंहरूको भनाईंको अर्थ के हो भने गुटबन्दी नहोस् । नेताहरू मिलेर अघि बढून । गुटले धेरै ठूलो क्षति पुर्‍याएको छ । विगतमा पनि गुटले गर्दाखेरि कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खानुपरेको छ । त्यो नहोस् भन्ने तपाईंहरूको सद्भाव, तपाईंहरूको सद्भावना, चाहना अवश्य पनि प्रशंसनीय छ । त्यसकारण तपाईंहरूलाई धन्यवाद पनि छ । हामी महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौँ । नेता–कार्यकर्ताहरू त्यही दिशामा अघि बढिरहनुभएको छ । तयारीको काम लगभग अन्तिम, अन्तिम चरणमा पुगेको छ । कम खर्चमा यो समारोहलाई भव्यताका साथ सम्पन्न गर्ने योजनामा छौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *