वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट हुने

काठमाडौं । आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिँदै सोहीअनुरुप काम गर्न निर्देशन दिए । नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेस गरेका कागजात साउन १ गतेदेखि अनलाइनबाटै प्रमाणीकरण हुने भएकाले सेवाप्रवाह प्रभावकारी हुनेछ । सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आबद्ध गरी नयाँ व्यवस्था लागु गर्न लागेको हो ।

खाडीमुलुक एवं मलेसियालगायत नेपाली कामदार माग हुने अन्य देशमा रहेका नेपाली दूतावासले साउन १ गतेदेखि मागपत्र प्रमाणीकरण अनिवार्यरुपमा अनलाइनमार्फत गर्नुपर्ने परराष्ट्रमन्त्री श्रेष्ठको भनाइ छ । सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीतिअन्तर्गत यो व्यवस्था लागु गरिएको हो, उनले भने, अनिवार्य रूपमा लागु गर्नुअघि नै नयाँ प्रणालीसँग अभ्यस्त हुन आजैदेखि परीक्षण थाल्नु उपयुक्त हुन्छ । परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकको खोजतलास, उद्धार, ज्यान गुमाएकाको शव झिकाउने, राहत एवं क्षतिपूर्ति, गुनासो सम्बोधनलगायत अनलाइन सेवालाई सबै नियोगले अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *