सरकारमा फर्किँदै फणीन्द्र देवकोटा

पोखरा । नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा फ्लोर क्रसको घटनाले कारबाहीमा परेर पनि सर्वोच्चको अन्तरिम आदेशपछि संसद् फर्किएका सरकारमा सामेल हुने भएका छन् । उनलाई आइतबार शपथको तयारी गरिएको छ । देवकोटाले जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले सांसदबाटै निष्कासन गरेको थियो । तर उनी उक्त निर्णयको विरुद्ध सर्वोच्च गएका थिए । सर्वोच्चले देवकोटाको पार्टी नेपाल समाजवादी नै उल्लेख भएकोले माओवादीले कारबाही गर्न नसक्ने भन्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्म सांसदकै रूपमा कामकाज गर्ने गरी अन्तरिम आदेश दिएको थियो । देवकोटा यसअघि जेठ २९ गते ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका थिए ।

अहिले पनि सोही मन्त्रालयमा दोहोरिन लागेका हुन् । आइतबार १० बजे शपथ गराउने तयारी भएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ । ७ सदस्यीय मन्त्रीमण्डल रहेको गण्डकीमा हालसम्म ४ जना मात्रै मन्त्री छन् । कांग्रेसका ३ र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्रीका रूपमा कार्यरत छन् ।सरकारलाई समर्थन गरेको राप्रपाले अहिले नै सरकारमा जाने छनक देखाएको छैन । केन्द्रीय नेतृत्वले तत्काल सरकारमा सहभागी नहुने निर्देशन पठाएपछि राप्रपा सरकारबाट बाहिर बसेको हो । राप्रपाकै लागि दुई वटा मन्त्रालय खाली राखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *