ललितपुर महानगरले बनायो आफ्नै लगानीमा पक्की पुल

ललितपुर । ललितपुर महानगरले नख्खु खोलामा आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ । सवारीसाधन सञ्चालन गर्न मिल्ने उक्त पक्की पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका छन् । निर्धारित समय अघि नै पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीलाई उनले धन्यवाद दिए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि १८ महिनामा नै पुल निर्माण सम्पन्न भएको हो । पुलपूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै बताउँदै यो पुलले सुनाकोठी, बुङमतीका बासिन्दालाई प्रत्यक्ष लाभ हुने बताए । नगर प्रमुख महर्जनले २०३८ सालमा लेले टिकाभैरबमा आएको बाढीले अहिले पुल बनेको ठाउँ जलमग्न भएको स्मरण गर्दै भन्नुभयो, ‘त्यस्तै किसिमको विपद आइकाले पनि धान्न सक्ने गरी पुल बनाएका छौँ । महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले पुलबाट सुनाकोठी र बुडमति बासीलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै अप्रत्यक्ष लाभ महानगरबासी सबैलाई हुने प्रष्ट पारे ।

पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा यो पुल निर्माण सम्पन्न भएको हो । ललितपुर महानगरले आफ्नै लगानीमा निर्माण सुरु गरेको अन्य दुईवटा पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । रानीबुँ कुसुन्ती (वडा न १३) र भैसीपाटी(वडा न २५) जोड्ने गरी एउटा पुल र वडा न १४ स्थित नखिपोटमा निर्मााणाधिन पुल सम्पन्न हुने चरणमा पुगेको हो । महानगरका इन्जिनियर प्रदीप पौडेलले अबको ६ महिनाभित्र अन्य दुईवटा पुल पनि बनिसक्ने बताए । उनले भने, ‘दुई वर्षभित्र तीनवटा पुल निर्माण सम्पन्न हुनेछन् , यो महानगरको लागि ठूलो उपलब्धि हो । सुनाकोठी र बङुमती जोड्ने पुलको लम्बाई १५ मिटर र चौडाइ ११ मिटर रहेको छ । यो पुलका लागि करीब ५ करोड बजेट छुट्याइएको छ । महानगरले पक्की पुल बनाउने आफू पहिलो स्थानीय तह भएको दाबी गरेको छ । कुसुन्ती रानीबुँ र भैसीँपाटी जोड्ने पुलको लम्बाई १८ मिटर र चौडाई १४ मिटर रहेको छ । यो पुल निर्माणका लागि दुई करोड ५४ लाख बजेट विनियोजन गरिएको छ । नखिपोट र भैसीँपाटी जोड्ने पुलको लम्बाई १८ मिटर र चौडाई १४ मिटर रहेको छ भने करीब ४ करोड बजेट छुट्याइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *