सहकारीको ऋण उठाउन जाँदा धम्की, गृहमन्त्री लामिछानेसँग सुरक्षाको माग

काठमाडौ । सहकारी संस्थाहरुले प्रवाह गरेको कर्जा उठाउन जाँदा, धितो लिलामी गर्दा धम्की आउन थालेपछि सहकारी महासंघ, सहकारी बैंकका प्रतिनिधिले गृहमन्त्री रवि लामिछानेसँग सुरक्षाको माग गरेका छन् । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेट्न महासंघ र बैंकका प्रतिनिधि सिंहदरबार पुगेका थिए । महासंघ अध्यक्ष ओमदेवी मल्लले सहकारी संघ संस्थाको ऋण असुली तथा धितो लिलाम प्रकृयामा विभिन्न समूहले अवरोध पुर्‍याएको भन्दै आवश्यक सुरक्षा व्यवस्थाको लागि गृहमन्त्रालयको ध्यानाकर्षण गराइन् । सहकारी संस्थाको ऋण तिर्नुपर्दैन भनी केही अराजक समूहबाट भ्रम फैलाइएको, ऋण असुलीमा जाने कर्मचारीमाथि गालीगलौज, धम्की आएक, धितो लिलामी प्रकृयामा अवरोध हुने गरेको मल्लको गुनासो छ । यसले सहकारी संघ संस्थाको चालु आर्थिक वर्षको खातावन्दीमा नकारात्मक असर परेको भन्दै आवश्यक सुरक्षा व्यवस्थाका लागि गृहमन्त्रालयबाट परिपत्र गरी दिन माग गरिन् ।

महासंघका निवर्तमान अध्यक्ष मीनराज कंडेलले सहकारी संघ सस्थालाई राजस्व तिर्नुपर्दैन जस्ता गम्भीर विषयमा अराजक समूहबाट भ्रम सिर्जना गरेको हुँदा राज्यले तत्काल कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । सहकारीका विषयमा सरकारको गम्भीर चासो रहेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अवाञ्छित गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाही हुने बताए । उनले सहकारी अभियानको मागका सम्बन्धमा आवश्यक अध्ययन गरी गृह मन्त्रालयबाट परिपत्र गर्ने आश्वासन समेत दिए । सहकारी संस्थाहरुले गैह्रकानुनी रुपमा दिएको कर्जा उठाउन अहिले समस्या परिरहेको छ । सहकारी संस्थाहरुले बिनाधितो, कानून विपरित कम्पनीलाई कर्जा लगानी गरेका थिए । त्यो कर्जा उठाउन अहिले संस्थाहरुलाई हम्मे हम्मे परेको छ । पहिला व्यक्तिगत स्वार्थ तथा लाभका लागि कानून विपरित दिएको कर्जा उठाउन समस्या भएपछि अहिले गृह प्रशासन धाउन थालेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *