युवा विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताएका छन् ।

आज सोमबार पूर्वाञ्चल विश्वविद्यालयको ३९-औँ सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय युवा–विद्यार्थीको विदेश पलायनको सङ्ख्या वर्षेनी बढ्दै भइरहेको भन्दै त्यसलाई रोक्न विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न निर्देशन दिएका हुन् । ‘युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि समेत विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ,’ उनले भने ।

२१औँ शताब्दीका युवा–विद्यार्थीको चाहना, आवश्यकता र प्राथमिकताहरू बुझेर सोही अनुसारका पाठ्यक्रम तयार गरी शैक्षिक कार्यक्रमहरू सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिन्छु उनले भने । पाठ्यक्रममा आमूल परिवर्तन गरेर अध्ययनसँगसँगै उद्यम अथवा निर्वाहमुखी रोजगारीको व्यवस्थाका लागि समेत विश्वविद्यालयहरूले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले वैकल्पिक साधन–स्रोतहरूको खोजीका पनि ध्यानकेन्द्रित गर्नुपर्नेमा जोड दिए ।

उच्चशिक्षामा विकासको गतिलाई व्यापक, व्यावहारिक र जीवनोपयोगी बनाउँदै लैजान सुझाव दिँदै प्रधानमन्त्रीले जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको बढ्दो प्रभावलाई न्यूनीकरण गर्नका लागि सूक्ष्म खोज–अनुसन्धान, प्राकृतिक सम्पदा र परम्परागत ज्ञान–सीपको संरक्षणमा लाग्नुपर्ने बताए । उनले पर्यटन प्रवर्द्धन र कृषिमा आधुनिकीकरण तथा यान्त्रिकरणका माध्यमबाट प्रदेशका साथै समग्र देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

गोठगाउँमा सुविधासम्पन्न अस्पतालका साथै मेडिकल कलेज सञ्चालन गरेर यस क्षेत्रका आम जनतालाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले त्यसका लागि आर्थिक स्रोतको सुनिश्चतताका साथै वैकल्पिक उपायहरूको खोजी गरेर मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *