नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमतिपछि मधेश बाहेक ६ प्रदेशमा स्पष्ट बहुमत

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि संघीय सरकारसँगै प्रदेश सरकारहरु पनि हेरफेर हुने देखिएको छ । सहमति अनुसार एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको ढोका खुल्नेछ । २७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन १३८ सांसद चाहिन्छ । कांग्रेसका ८८ र एमालेका ७९ सांसद रहेकाले उनीहरुसँग प्रतिनिधिसभाको ६०.७२ प्रतिशत अर्थात् १६७ जनाको समर्थन हुन्छ । कांग्रेस र एमालेले संघमा जस्तै मधेश प्रदेश बाहेक ६ वटा प्रदेशमा सहजै सरकार बनाउन सक्छ । कांग्रेस र एमालेको समीकरण बनेसँगै १८ महिनादेखि संघीय सरकारको नेतृत्व गरिरहेको र सातै प्रदेशमा सरकारमा रहेको माओवादी केन्द्र मधेश प्रदेश बाहेक सबैतिर प्रमुख प्रतिपक्षीय भूमिकामा पुग्नेछ । मधेश प्रदेशमा भने कांग्रेस र एमालेले सरकार बनाउन माओवादी वा मधेशकेन्द्रित कुनै दलको साथ लिनुपर्नेछ । १०७ सदस्यीय मधेश प्रदेशमा सरकार बनाउन आवश्यक ५४ सांसद चाहिन्छ । जहाँ एमालेसँग २५ र कांग्रेससँग २२ गरेर ४७ सांसद छन् । सरकार बनाउन ७ जना सांसद संख्या पुग्दैन । यहाँ जनता समाजवादी पार्टी नेपालसँग १९, जनमत पार्टीसँग १३, लोकतान्त्रिक समाजवादी फोरम र माओवादी केन्द्रसँग ९,९ र एकीकृत समाजवादीसँग ७ सांसद छन् । राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी नेपालको १,१ सांसद छन् । यही अंकगणितका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मधेश प्रदेश सरकारको नेतृत्व लिएर संघीय सरकारलाई समर्थन गर्न आग्रह गरेका स्रोतहरुको भनाइ छ । कांग्रेससँग आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति गरेपछि एमाले अध्यक्ष ओली बुधबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उक्त भेटमा ओलीले ‘मधेश प्रदेश सरकारको विषयमा कांग्रेस र एमालेका बीचमा सहमति नभएको’ उल्लेख गर्दै उक्त प्रदेशको नेतृत्व लिने गरी भूमिका खेल्न आग्रह गरेका थिए । कांग्रेस र एमालेबीच हाल दुई पार्टीको नेतृत्वमा रहेका प्रदेश सरकारलाई निरन्तरता दिने प्रारम्भिक सहमति छ । कोशी प्रदेशमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार छ । ९३ सदस्यीय कोशी प्रदेशमा सरकार बनाउन ४७ सांसद चाहिन्छ । नयाँ गठबन्धनसँग एमालेको ४० कांग्रेसको २९ जोड्दा ६९ पुग्छ । यो प्रदेशमा माओवादी १३, राप्रपा ६, एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद रहेका छन् । गण्डकी प्रदेशमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार छ । ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार बनाउन ३१ सांसद चाहिन्छ । अब नयाँ गठबन्धनसँग कांग्रेसको २७ र एमालेको २२ गरी ४९ सांसद हुनेछन् । यो प्रदेशमा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद एक जना छन् । माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा माओवादी केन्द्रको कारबाहीमा परेका छन् । तर, उनलाई गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रदेश सभा सचिवालयले उनलाई माओवादी केन्द्रकै सांसदका रुपमा अभिलेखित गरेको छ । कांग्रेस र एमालेको प्रारम्भिक सहमति अनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व पनि फेरिने छैन । यहाँ हाल एमालेका यामलाल कँडेल नेतृत्वको सरकार छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार बनाउन २१ सांसद आवश्यक छ । नयाँ गठबन्धनसँग कांग्रेसका १४ र एमाले ९ गरेर २३ पुग्छ । यो प्रदेशमा माओवादी केन्द्रका १३, एकीकृत समाजवादी र राप्रपाका एकरएक जना सांसद छन् भने स्वतन्त्र एक जना रहेका छन् । कांग्रेस र एमालेका बीचमा सत्ता समीकरण बनेसँगै माओवादी केन्द्रले बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गुमाउनेछ । सरकारको नेतृत्वसँगै माओवादी केन्द्र यी दुई प्रदेशमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहनेछ । ११० सदस्यीय बागमती प्रदेशमा सरकार बनाउन ५६ सांसद चाहिन्छ ।

नयाँ गठबन्धनमा रहेका दल कांग्रेसका ३७ र एमालेका २७ जोड्दा ६४ पुग्छ । यो समीकरण अनुसार सरकार बन्ने प्रक्रिया सुरु भएपछि हाल मुख्यमन्त्री रहेका माओवादी केन्द्रका शालिकराम जम्कट्टेल सत्ता बाहिर हुनेछन् । यो प्रदेशमा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टी २ र नेमकिपाका ३ जना सांसद रहेका छन् । नयाँ समीकरण बनेसँगै माओवादी केन्द्रका जोखबहादुर महरा नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्नेछ । ८७ सदस्यीय लुम्बिनीमा सरकार बनाउन ४४ सांसद आवश्यक पर्छ । नयाँ गठबन्धनका दलहरु एमालेका २९ र कांग्रेसको २७ जोड्दा ५६ पुग्छ । यो प्रदेशमा माओवादीका ११, राप्रपा र नाउपाका चार,चार, लोसपा र जनमत पार्टी र जसपाका तीनरतीन जना सांसद छन् । एकीकृत समाजवादी र राजमोका एक,एक जना सांसद छन् भने एक जना स्वतन्त्र सांसद रहेका छन् । संघीय संसदमा १० सिट रहेको एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशमा चार जना सांसद छन् । यो प्रदेशमा हाल यही पार्टीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री छन् । कांग्रेस र एमालेका बीचमा सत्ता समीकरण बनेसँगै सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा एकीकृत समाजवादी रहने छैन । ५३ सदस्यीय सभामा सरकार बनाउन २७ आवश्यक पर्छ । नयाँ गठबन्धनसँग कांग्रेसका १९ र एमालेका १० सांसद गरेर २९ पुग्छ । यो प्रदेशमा माओवादी केन्द्रका १०, नाउपाका ७ जना, एकीकृत समाजवादीका चार जना सांसद छन् । राप्रपाका एक जना सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् । नेकपा एमालेसँग विद्रोह गरेर बनेको पार्टी नेकपा एकीकृत समाजवादीले यो प्रदेशमा सरकारको नेतृत्व नै गर्ने अवसर पाएको थियो । समाजवादीका सोडारी ६ वैशाख २०८१ मा मुख्यमन्त्री बनेका थिए । तर, उनी नेतृत्वको सरकार दुई महिनामै ढल्ने अवस्थामा पुगेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *