भारोत्तोलनमा चार नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार चार नयाँ राष्ट्रिय कीर्तिमान पुरुषको स्पर्धामा बनेको छ । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरुको कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमाथि वाग्मती प्रदेशका आशिष मानन्धरले १४५ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । उनकै नाममा १३० केजीको कीर्तिमान थियो । कर्णाली प्रदेशका किरणकिशोर सापकोटा दोस्रो तथा कोसी प्रदेशका सुपर राई तेस्रो भए । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५९ केजीमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान बनाए ।

८५ केजीको कीर्तिमान दीपक तिमल्सिनाको नाममा थियो । कोसीका सोमनाथ राई दोस्रो तथा वाग्मतीका मानबहादुर रानामगर तेस्रो बने । पुरुष ६५ केजीमा वाग्मतीका दीपक खड्काले १०१ केजी वजन उचाल्दै राष्ट्रिय कीर्तिमान कायम गरे । उनले ठाकुर श्रेष्ठको ९० केजीको कीर्तिमान भंग गरे । वाग्मतीका विरु ढुंगानाले रजत तथा लुम्बिनीका लक्ष्मण नेपालीले कांस्य प्राप्त गरे । पुरुष ५४ केजीमा वाग्मतीका ठाकुर श्रेष्ठले १०० केजी भार वहन गर्दै कीर्तिमानी स्वर्ण जिते । उनले आफ्नै नाममा रहेको ९० केजीको कीर्तिमानमा सुधार गरे । गण्डकी प्रदेशका पवन घर्तीमगर दोस्रो तथा वाग्मतीका दीपक तिमल्सिना तेस्रो स्थानमा रहे । पुरुष ४९ केजीमा वाग्मतीका मनीष पुन मगरले स्वर्ण चुमे । उनले ५० केजी वजन उठाए । कर्णालीका रुपलाल बस्नेतले रजत तथा कोसीका अजित खातीले कांस्य हात पारे । पुरुष ७२ केजीमुनि वाग्मतीका राजाराम सिलवाल पहिलो भए । उनले ८० केजी तौल उचाले । लुम्बिनीका नारायण तिमल्सिना दोस्रो तथा वाग्मतीका रामकाजी मगर तेस्रोे भए । विजेतालाई राखेपकी अध्यक्ष एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङ लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा मधेसबाहेक ६ प्रदेशका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा ६ र महिलामा तीन गरी ९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *