हेटौँडामा नमूना सडक बनाइँदै

बागमती । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ ।

हेटौँडा-४ स्थित रजतजयन्ती र हेटौँडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम मार्फत ती दुवै सडकलाई नमूना सडकको रूपमा निर्माण गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले जानकारी दिइन् । सहरी विकास मन्त्रालय अन्तर्गतको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रममार्फत हेटौँडा– ४ स्थित रजत जयन्ती मार्गको करिब एक किलोमिटर सडक तथा हेटौँडा ७ र ८ जोड्ने कर्नाबत्ती मार्गलाई स्मार्ट लाइट, फुटपाथ, नालासहित नमूना सडकको रूपमा निर्माण गरिने उनले बताइन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले ती दुवै सडकलाई फराकिलो बनाई नमूना सडकको रूपमा स्तरोन्नति गर्ने काम अघि बढाएको उनले बताइन् । रजत जयन्ती मार्गलाई चार लेनको सडकको रूपमा विकास गर्दै दुवैतर्फ फुटपाथ, बेरियर, सडक बत्तीसहित अक्सपाल्ट पिच गरिने र क्याक्पाडाँडा पुलदेखि हेटौँडा–१५ तिनकुने चौकसम्मको कर्णबत्ती मार्गको डेढ किलोमिटर सडकलाई दाँयाबाँया साढे सात मिटर चौडा गरिने योजना रहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापाले बताए ।

सङ्घीय सरकारको विनियोजित रकमबाट यी दुई सडक तथा हेटौँडा–६ को वडा कार्यालय भवनसमेत निर्माण गरिने उनले जानकारी दिए। तीनवटै योजना आगामी १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजना प्रमुख थापाको भनाइ छ । नमूना सडक निर्माणले हेटौँडाको पहिचान बढाउन मद्दत पुग्नुका साथै पर्यटन पर्यावरणमा सहयोग पुग्ने हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले बताए । यी दुई सडक स्तरोन्नति हुँदा जनताले अपेक्षा गरेको विकास काम प्रत्यक्षरुपमा अनुभूति गर्ने र आगामी दिनमा नगर क्षेत्रका अन्य सडकलाई पनि स्मार्ट बनाउन सकिने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *