प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । बिहीबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीको प्रश्नमा शर्माले भनिन्, सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । संवैधानिक, कानुनी व्यवस्था अनुरूप प्रधानमन्त्रीले संसद्‌मा विश्वासको मतको सामना गर्ने बताउनुभएको छ । कुन दिन गर्ने भन्ने निर्णय भएको छैन, हामी सकेसम्म छिटो विश्वासको मतको फेस गर्छौं ।

प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाली कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरिरहेका छन् । तर, प्रचण्डले आफूले संसद्‌मा विश्वासको मतको सामना गर्ने बताउँदै आएका छन् । बिहीबार बिहानमात्र उनले राजीनामा बुझाउन गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूलाई केही दिन पर्खिन आग्रह गरेका थिए । त्यसपछि रास्वपाका मन्त्रीहरू राजीनामा नदिएर फर्किएका थिए । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पहिले प्रधानमन्त्री बन्ने गरी दुई दलबीच सहमति भएको छ । दुई दलले संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएका छन् । उनीहरूले राष्ट्रिय सहमतिको सरकारका लागि आह्वान पनि गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *