वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउँछौँ- श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले मन्त्रालयले विदेश जाने श्रमिकहरू नठगिने र म्यानपावर व्यवसायीहरूले पनि वैध रुपमा मात्रै रकम लिन पाउने गरी अध्ययन भइरहेको र छिटै कार्यविधि बनाउने बताए । उनले नेपालमा गैरबैंकिङ च्यानलबाट हरेक वर्ष दुई खर्ब, एक अर्ब ६० करोड रुपैयाँ म्यान पावर व्यवसायीहरूले उठाइरहेको तथ्याङ्क आफूले पाएको भन्दै अहिले अध्ययन गरी व्यवस्थित गराउने तयारीमा आफू रहेको बताए ।

उनले भने ‘नेपालबाट बिदेसिने तमाम नागरिकहरूको बारेमा हामीले सूक्ष्म तरिकाले अध्ययन गरेका छौँ । मेरो करिब १२४ दिन मन्त्रालयमा बस्दै गर्दा धेरै नै अध्ययन र निर्णय गर्ने तयारीमा फाइल पनि अघि बढेको छ । मैले अघि एउटा डाटा भनेको थिएँ, दुई खर्ब, एक अर्ब ६० करोड रुपैयाँ हरेक वर्ष गैरबैंकिङ च्यानलमा नेपालमा उठिरहेको म्यान पावर व्यवसायीहरूले उठाइरहेको नेपाली नागरिकहरूसँग जो विदेश जाँदै हुनुहुन्छ, भन्ने तथ्यांकमा पनि हामीले काम गरिरहेका छौँ ।’

विदेश जाँदा सीप तालिम सिकेर जान आवश्यक रहेको र सरकार सोही दिशामा अग्रसर रहेको पनि उनले बताए । उनले भने ‘यो भनेको सबैले बुझेकै कुरा हो, नेपाल सरकारले फ्रि टिकट, फ्रि भिसा वा १० हजार रुपैयाँ सेवा शुल्क लिएर विदेश पठाउन पाउने जुन निर्णय गर्यो, त्यो निर्णय गर्दा कति दूरगामी अध्ययन गरेर निर्णय गरियो, त्यसको बहस गर्न म चाहन्न । जुन निर्णयले गर्दा व्यवसायीहरूलाई अझ रकमहरू असुल्ने, बीचमा बिचौलियाले रकम असुल्ने तर नागरिकहरू विदेश जाँदै गर्दा १० हजार रुपैयाँको मात्रै उहाँहरूलाई रिसिभ दिने र दुःख पाएर फर्किनुपर्ने अवस्था थियो । त्यो अध्ययन पछि हामीले कोही पनि नेपाली बाध्यताले विदेश जानुपर्छ र उहाँसँग रकम छैन भने मिटरब्याज, सहकारी, चोकेबाज वा आफ्ना जाहेजेथा बेचेर जानुपर्दा पनि थोरै रकम तिरेर विदेश जाने वातावरण बनाउनुपर्छ भनेर यसलाई अत्यन्त राम्रो अध्ययन गरी सेवा शुल्कको बारेमा अध्ययन गरिरहेका छौँ । यसले सरकारलाई अर्बौँ रुपैयाँ कर आउने र व्यवसायीहरूले पनि वैध रुपमा आम्दानी गर्ने एवं नेपाली नागरिकहरू नठगिने तयारी गरिएको छ । छिट्टै व्यवस्थित र मर्यादित हुनेछ ।’

मन्त्री अर्यालले श्रमिकहरूलाई विदेशमा गएर पनि मर्यादित काम र उचित पारिश्रमिकको व्यवस्था मिलाउने गरी व्यवस्थित गरिने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *