माझी र दनुवार बस्तीमा पानीका धारा

काठमाडौँ । २०७२ सालको भूकम्पले ढलेको सिन्धुपाल्चोक भीमटारको माझी र दनुवार समुदायको बस्तीका हरेक घरमा धारा बनेको छ । विभिन्न सङ्घसंस्थाको सहयोगमा एकैनासका भूकम्प प्रतिरोधी घर बनेको बस्तीमा पिउने पानीको दुःख हटेपछि स्थानीयवासी दङ्ग परेका छन् । भूकम्पपछि इन्द्रावती गाउँपालिकाको भीमटार, भोटसिपाको गाउँबस्तीमा पानीको मुहान सुकेपछि पिउने पानीको दुःख सुरु भएको थियो । झन्डै ६ वर्ष पानीको दुःख झेलेका स्थानीयवासीलाई घरघरमा धारा बनेपछि कुनै चाड आए जस्तै खुसी मिलेको स्थानीयवासी अनिल दनुवारले बताएका छन् ।

इन्द्रावती गाउँपालिका र स्थानीयवासीको जनश्रमदान गरी रु ३९ लाख लागतमा सम्पन्न खानेपानी योजनाबाट भीमटार क्षेत्रका १९५ घरधुरी लाभान्वित भएका छन् । पानीको सुविधापछि घर वरपर सफा भएको छ भने, करेसामा हरियो रोप्न थालिएको छ । खानेपानीको सुविधापछि गाउँको मुहार फेरिन थालेको इन्द्रावती १२ का वडाध्यक्ष कमलरत्न दनुवारले बताए ।

भीमटार जस्तै खानेपानीको मुख्य समस्या बेहोरिरहेको इन्द्रावती–१० भोटसिपाका स्थानीयवासीको पनि गाउँमा पानीको समस्या टरेको छ । ज्याफ्स संस्थाको आर्थिक सहयोग र इन्द्रावती गाउँपालिकाको समन्वयमा निर्मित बूढीचौर लिफ्टी खानेपानी योजनाबाट एक हजार परिवारको घरआँगनमा खानेपानी पुगेको छ । इन्द्रावती गाउँपालिकाभित्रको सबै वडाभरिका २८ हजार स्थानीयवासीलाई घरमै पानी पु¥याउन रु २० करोड बराबरको इन्द्रावती बृहत् खानेपानी योजनाको काम पनि अहिले धमाधम भइरहेको स्थानीयवासी बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *