असन्तुष्टीको अन्त्य गर्ने पक्षमा कांग्रेस : नेता भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले कांग्रेसभित्रको असन्तुष्टी अन्त्यका लागि सरलीकरणको काम भइरहेको बताए । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय तहको निर्वाचनमा देखिएका असन्तुष्टी अन्त्यका लागि कांग्रेस लागि परेको धारणा राखेका छन् । नेता भण्डारीले भने, “गठबन्धनलाई जिताउनु सबैको दायित्व हो । असन्तुष्टी मिलाउँदै जानुपर्छ ।”

स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई सम्झाउन अझै समय बाँकी रहेको उल्लेख गर्दै उनले असन्तुष्टि बढेका स्थानमा सम्हाल्न केन्द्रदेखि जिल्ला तहसम्म लागि परेको बताए । “स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई महत्वका साथ हेरिएको छ”, उनले भने । राष्ट्रिय तहमा भएको गठबन्धनलाई हरेक पालिकास्तरमा कार्यान्वयन गर्र्ने प्रयास भइरहेको भण्डारीको भनाइ थियो । लोकतान्त्रिक परिपाटीलाई प्रथामिकता दिँदै उपलब्धिको रक्षाका लागि सबै लाग्नु आवश्यक रहेको उनले बताए ।

पार्टीका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ्ले पार्टीको केन्द्रीय निर्देशनको पालना गर्नुपर्ने बताए । “राजनीतिक जीवनमा केन्द्रको निर्णय मान्नुपर्छ”, उनले भने । टिकट बितरणको समयमा आफ्ना असन्तुष्टी रहे पनि केन्द्रको निर्णय आएपछि गठबन्धनको पक्षमा लाग्नुपर्ने गुरुङको भनाइ थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *