सामाजिक भत्ता घर/घर मै


काठमाडौँ । स्याङ्जाको भिरकोट नगरपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरवासीलाई बैंकसम्म जान समस्या परेको जनाउँदै नगरपालिकाले घरमा पुगेर सो भत्ता वितरण गर्न थालेको हो । नगरकार्यपालिकाको यही यही असार १६ को पहिलो बैठकले घरमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकालाई भत्ता उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । “ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई गाउँ–गाउँबाट बजारमा रहेको बैंकसम्म आउन निकै समस्या भएकाले घर–घरमै लगेर भत्ता उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो, “यो अभियानमा नगरप्रमुख, उपप्रमुख तथा सम्बन्धित वडाका निर्वाचित वडाध्यक्ष तथा सदस्यको उपस्थितिमा वितरण भएको हो ।”

ग्रामीण भेगबाट बैंकसम्म पुग्नुपर्ने, बैंकमा पुगेर लाइन बस्नुपर्ने समस्या हट्नुका साथै गाडी भाडासमेत बचत भएको उहाँले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता लिएर घर–घरमा पुग्दा यहाँका नागरिक एकातर्फ खुसी हुनुहुन्छ भने अर्कातर्फ उहाँहरुको कुरा, गुनासो, सुझाव प्रत्यक्ष सुन्न र कार्यान्वयनमा लैजानका लागि हामी जनप्रतिनिधिलाई पनि सहज हुने उहाँको भनाइ थियो ।

गाउँ–गाउँमा रहनुभएका ज्येष्ठ नागरिक बैंकसम्म पुग्न समस्या हुने तथा बैंकमा पुगेर घण्टौँसम्म लाइन लाग्नुपर्दा सास्ती हुने भएकाले वडामार्फत सहजीकरणका लागि व्यवस्थापन मिलाइएको वडा नं ७ का अध्यक्ष ताराप्रसाद अर्यालले बताउनुभयो । “सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वडाका सबैको दस्तखतसहितको चेक सङ्कलन ग¥यौँ”, उहाँले भन्नुभयो, “वडाका भत्ता प्राप्त गर्नेको नामावलीसहित वडाको सिफारिस, नगरपालिकाले बैंकलाई गरिदिएको सिफारिसका आधारमा बैंकबाट रकम बुझेर घर–घरमै लगेर वितरण गरेका हौँ ।”

घरमै सामाजिक सुरक्षा भत्ता पाएपछि बजारमा रहेको बैंकसम्म जानुपर्ने बाध्यता हटेको भिरकोट–७ का ज्येष्ठ नागरिक गङ्गाराम अर्यालले बताउनुभयो । “८४ वर्षको भएँ, भत्ता बुझ्न बयरघारी बजारमा रहेको बैंकमा जानुपथ्र्यो, बूढो मान्छे भनेको बेलामा गाडी पाइँदैन”, उहाँले भन्नुभयो, “जान आउनै गाडी भाडा रु एक हजारदेखि एकहजार पाँच सय लाग्थ्यो, एक पाइलै नहिँडीकन घरमै पाएपछि उक्त रकम पनि बचत भयो ।”

आफूहरुले भोट हालेर जिताएका जनप्रतिनिधिले यसरी घर–घरमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गरिदिँदा निकै चित्त बुझेको अनुभव ज्येष्ठ नागरिक अर्यालले सुनाउनुभयो । “बैंकसम्म जान आउन परेन, बैंकमा पनि लामो लाइन हुन्थ्यो, बूढाबूढीलाई सास्ती हुन्थ्यो”, ज्येष्ठ नागरिक अर्यालले भन्नुभयो, “मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यले बंैकसित समन्वय गरेर घरमै ल्याएर दिनुभयो, यसले गर्दा हामीलाई सजिलो भयो ।”

भिरकोटमा भत्ताका लागि कूल तीन हजार नौ ९१ रहेका पञ्जीकरण शाखाका अपरेटर विजय गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो तथ्याङ्कानुसार नगरपालिकाभित्र ७० वर्षमाथिका ज्येष्ठ नागरिक भत्ता पाउनेहरू रु एक हजार नौ ४०, ज्येष्ठ नागरिक (दलित) तीन सय १०, ज्येष्ठ नागरिक एकल महिला पाँच सय ४०, विधवा (आर्थिक सहायता) पाँच सय ३३, पूर्ण अपाङ्गता एक सय चार, अतिअशक्त एक सय ४९, दलित बालबालिका चार सय १५ छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *