‘पशु सेवा विधेयकमाथि विधायन समितिमा थप छलफलको आवश्यकता छ’

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले पशु प्राविधिकको भूमिकालाई सम्मान हुने गरी पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ पारित गर्नु जरुरी रहेको बताउनुभएको छ ।

उहाँहरुले आन्दोलन गरिरहेका पक्षको पनि आवाज सुन्नुपर्नेमा जोड दिनुभएको छ । सांसदहरूले विधायन व्यवस्थापन समितिमा व्यापक छलफल गरी विधेयकलाई थप समृद्ध बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बैठकमा सांसद भगवती न्यौपानेले ग्रामीण भेगमा ठूलो सेवा प्रदान गर्दै आएको पाराभेट ९पशु प्राविधिक० को सेवाको उच्च मूल्याङ्कन गरेर विधेयक अघि बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले विधेयकका सन्दर्भमा सम्बन्धित व्यक्तिसहित सरोकारवालासँग व्यापक छलफलको आवश्यकता औँल्याउनुभयो ।

सांसद सुरेश आलेमगरले उक्त विधेयकका सवालमा आन्दोलनसमेत भइरहेको सन्दर्भ जोड्दै पशु सेवा र पशु स्वास्थ्य क्षेत्रका व्यक्तिको भनाइलाई समेत समेट्न आग्रह गर्नुभयो । उहाँले उक्त परिस्थिति सिर्जनाका लागि सरकारलाई रुलिङ गर्न पनि आग्रह गर्नुभयो ।

सांसद प्रमिलाकुमारीले नेपाल पशु चिकित्सा परिषद्ले प्रधानमन्त्री कार्यालय, मन्त्रालयल र संसद्को समेत ध्यानाकर्षण गराएको जानकारी गराउँदै विधायन व्यवस्थापन समितिमा व्यापक छलफल गर्न जरुरी रहेको बताउनुभयो ।

“यसले पशु चिकित्सकलाई नियमन गर्न ल्याएको हो की त्यसबाहेक पशु स्वास्थ्यकर्मीलाई नियमन गर्न खोजिएको हो, कुनै पनि दफामा उल्लेख भएको देखिँदैन, त्यसैले अन्य ऐनसँग नबाझिने गरी प्रस्तावना, परिभाषा र नाममा संशोधन हुन जरुरी छ”, प्रमिला कुमारीले भन्नुभयो । योग्यताअनुसारको कार्य फरकफरक हुने भएकाले त्यसको स्पष्ट परिभाषित गर्नुपर्नेमा आवश्यकता औँल्याउनुभयो ।

सांसद डा. विमला राई पौडेलले पशु सेवा र पशु चिकित्साको दुई फरक विधालाई विधेयकमा समेटिएको उल्लेख गर्दै सेवा फरकफरक रहेको बताउनुभयो । मिसमास भएर विधेयक आएको बताउँदै उहाँले प्रश्न गर्नुभयो, “शुरुमै मन्त्रालयले यस विषयमा किन छलफल नगरी विवादास्पद विधेयक कसरी ल्यायो रु” पर्याप्त छलफल गर्न जरुरी रहेकाले यत्तिकै विधेकय पास गर्न नसकिने उहाँले बताउनुभयो ।

सांसद डा. बेदुराम भुसालले विधेयकका कतिपय सन्दर्भ मिलाउनुपर्ने र सरोकारवालाहरुको आवाज सुन्नु नै पर्नेमा जोड दिनुभयो । उहाँले विधायन व्यवस्थापन समितिमा पठाएर छलफल गरी पारित गर्न अनुरोध गर्नुभयो ।

सांसद खिमलाल देवकोटाले विधेयक अधिकार विकेन्द्रिकृत भए पनि विधेयकले केन्द्रिकरण गरेको उल्लेख गर्दै गहन छलफलको खाँचो रहेको औँल्याउनुभयो ।

सांसद देवेन्द्र दाहालले पशु स्वास्थ्यकर्मी, पशु चिकित्सक र भेटेरिनरी चिकित्सकको नियमन गर्ने कुरा विधेयकमा आएकाले थप छलफल गरेर समृद्ध बनाउन आवश्यक भएको बताउनुभयो ।

सांसदहरु गोमादेवी तिमिल्सिना, शेखरकुमार सिंह, भुवनबहादुर सुनार, मदनकुमारी शाह, दिलकुमारी रावल थापा, सुमित्रा विसी, नारायणदत्त मिश्र र राजेन्द्रलक्ष्मी गैरेले विधेयकमाथिको छलफलमा भाग लिएर धारणा राख्नुभएको थियो ।

सांसदले उठाएका प्रश्नको जवाफ दिँदै विधेयक प्रस्तुतकर्ता कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले अझै विधेयक समृद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले विधायन व्यवस्थापन समितिमा व्यापक छलफल गर्नुपर्ने माग जायज रहेको बताउनुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *