‘आइफोन १४’ सार्वजनिक


काठमाडौं।‘फार आउट’ कार्यक्रममार्फत टेक कम्पनी एप्पलले चार नयाँ आइफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले १४ औं जेनेरेसनका चार आइफोनसहित अन्य उत्पादनहरुको पनि सार्वजनिक गरेको हो । कम्पनीले एप्पल वाचसहित एयरपोडपनि सार्वजनिक गरेको हो । एप्पलले हरेक वर्ष सेप्टेम्बरमा गर्ने इभेन्ट कोभिड १९ महामारीपछि भने क्यालिफोर्नियाको क्युपर्टिनोमा भएको थियो । सार्वजनिक भएका आइफोनहरुमा ‘आइफोन १४’, ‘आइफोन १४ प्लस’, ‘आइफोन १४ प्रो’ र ‘आइफोन १४ प्रो म्याक्स’ रहेका छन् । यी चार वटै फोनहरु फाइभ(जी नेटवर्क सपोर्टसहितका फोनहरु हुन् । यी फोनहरुमध्ये आइफोन १४ प्लसबाहेकका सबै फोनहरु १६ सेप्टेम्बरबाट बजारमा उपलब्ध हुनेछन् । कम्पनीका अनुसार आइफोन १४ प्लस भने ९ अक्टोबरबाट मात्रै बजारमा उपलब्ध हुनेछ ।
एप्पलले सार्वजनिक गरेका फोनहरुको सुरुवाती मूल्य ७९९ अमेरिकी डलरदेखि रहेका छ । आइफोन १४ का लागि कम्पनीले ७९९ अमेरिकी डलर र आइफोन १४ प्लसका लागि ८९९ अमेरिकी डलर मूल्य कम्पनीले तोकेको छ । त्यस्तै, आइफोन १४ प्रोको मूल्य ९९९ अमेरिकी डलर र आइफोन प्रो म्याक्सको मूल्य १०९९ अमेरिकी डलर रहेको छ ।
सार्वजनिक भएका आइफोनमध्ये सबैभनदा सस्तो आइफोन १४ पाँच रंगमा उपलब्ध छ । कम्पनीले बताए अनुसार आइफोन १४ मा १२ मेगापिक्सलका दुई क्यामेरा रहेका छन् । त्यस्तै, फोनमा प्रयोग भएको चिपसेट भने पुरानै रहेको छ । आइफोन १४ मा नयाँ प्रविधि भने दुर्घटना भएमा सुचना दिने क्र्यास डिटेक्सन फिचर रहेको छ । जुनसुकै गाडीमा पनि काम गर्ने दाबी गरिएको यो प्रविधिले दुर्घटना हुँदा आपतकालीन व्यक्तिलाई सम्पर्क गरिदिने कम्पनीले जनाएको छ । उक्त फिचर आइफोन १४ र आइफोन १४ प्लसमा रहेको छ ।
आइफोन १४ मा स्क्रिन ६.१ इञ्चको छ भने आइफोन १४ प्लसमा स्क्रिन ६.७ इञ्चको रहेको छ । कम्पनीकाअनुसार आइफोन १४ र आइफोन १४ प्लसमा भएका ब्याट्रीहरु हालसम्मकै राम्रो रहेका छन् । सधैं जसो ब्याट्रीको गुणस्तर र चार्ज नटिक्ने समस्या भोग्दै आएका आइफोनका प्रयोगकर्ताहरुका लागि यसपटक भने राम्रो ब्याट्री भएको फोन उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
आइफोन १४ र आइफोन १४ प्लसलाई १२८, २५६ र ५१२ गरि तीन स्टोरेजका भेरियन्टहरुमा उपलब्ध गराइएको छ । आइफोन १४ भन्दा स्क्रिनको आधारमा मात्रै ठूलो र बढी ब्याट्री टिक्ने भनिएको आइफोन १४ प्लसमा अन्य फिचरहरु भने उस्तै रहेका छन् । त्यस्तै, आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्समा भने ‘ए सिक्सटिन’ बायोनिक चिपसेटमार्फत फोनलाई पावर दिने प्रविधि राखिएको छ । दुवै फोनमा ४८ मेगापिक्सलको क्यामेरा राखिएको छ भने फोनको अगाडि हुने ‘नच’ पनि हटाइएको छ । नचको ठाउँमा ‘डाइनामिक आइल्याण्ड’ नामकको कटआउट राखिएको छ जुन फोनमा आउने नोटिफिकेसन र एनिमेसनका आधारमा चल्नेछ
यी दुवै फोनमा तीन वटा क्यामेरा छन् । फोन चार रंगमा उपलब्ध हुनेछ । फोनको डिस्प्ले भने सधैं अन हुने किसिमले बनाइएको छ । आइफोन १४ प्रोमा ६।१ इञ्च र आइफोन १४ प्रो म्याक्समा ६।७ इञ्चको डिस्प्ले रहेको छ ।
आइफोनले विभिन्न देश केन्द्रित गरेर सार्वजनिक गरेका आइफोनको १४ औं जेनेरेसनका फोनहरुमा अमेरिकामा सार्वजनिक तथा उपलब्ध हुने फोनमा भने सिम राख्ने ठाउँ छैन । कम्पनीका अनुसार फोनमा ‘इ–सिम’ हुनेछ । अन्य देशमा भने यो विषयमा कम्पनीले हालसम्म पनि के हुन्छ भन्ने बारेमा सार्वजनिक गरेको छैन । ‘सिरिज एट’ को एप्पल वा कम्पनीले ३ भेरयिन्टमा एप्पल वाच (घडी) पनि सार्वजनिक गरेको छ । जसमध्ये ‘सिरिज एट’, ‘एसइ’ र ‘अल्ट्रा’ रहेका छन् । यी तीनमध्ये एप्पल वाच सिरिज एटको मूल्य ३९९ अमेरिकी डलर तोकिएको छ । त्यस्तै, एसइको मूल्य २४९ अमेरिकी डलर र एप्पल वाच अल्ट्राको मूल्य ७९९ तोकिएको छ ।
यी तीन वटै भेरियन्टका घडीहरुमा पहिलेभन्दा राम्रोसँग तापक्रम मापन गर्न सक्ने क्षमता बढाइएको छ भने महिला केन्द्रित भएर सार्वजनिक गरिएको एप्पल वाच एटमा गर्भवती भएको बेला महिलाको स्वाथ्यको तापक्रमलाई सुक्ष्म रुपले मापदन गर्ने फिचर राखिएको छ । सँगै तीन वटै फोनहरुको ब्याट्री लाइफ पनि बढाइएको कम्पनीको दाबी छ ।
कम्पनीले दोस्रो जेनेरेसनअन्तर्गतको एयरपोड पनि सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको ‘एयरपोड प्रो टु’मा ‘एच टु’ चिप राखिएको छ, जसले एकदमै सानो मात्रामा आवाजको डिस्टोरसनलाई कम गर्ने र कानमा सुनिने ध्वनीको गुणस्तरमा सुधार ल्याउने कम्पनीको दाबी छ । यो एयरपोडको प्रउोगमार्फत प्रयोगकर्ता आफैंले आफूले कुन रुपमा आवाज सुन्न चाहने भनेर प्रोफाइल बनाउन सक्नेछन् । कम्पनीका अनुसार यसको ब्याट्री भने ६ घण्टासम्म टिक्छ । यसको मूल्य २४९ अमेरिकी डलरबाट सुरु भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *