पोखराको आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलायो

पोखरा । पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ । २०५६ सालमा स्थापना भएको पोखराको एक मात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरले भत्काएको हो ।

तत्कालीन मेयर मानबहादुर जिसीकै कार्यकालमा त्यसलाई भत्काउने निर्णय भइसकेको महानगरपालिकाले जनाएको छ । हालका मेयर धनराज आचार्यसहितको टोलीले बिहीबार बिहान महेन्द्रपुल पुगेर उक्त संरचना हटाएको हो ।

पोखरा महानगरको गत चैत १ गते बसेको २८ औं नगर कार्यपालिका बैठकले महेन्द्रपुलबाट पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय न्युरोडस्थित प्रदेश संग्रहालयमा सार्ने निर्णय गरेको थियो ।

फोटो र चित्र नै प्रदर्शन गर्ने उद्देश्यले बनाइएको भवन पोखरा आर्ट ग्यालरीबाहेक अन्यत्र छैनन् । त्यसैले पोखरामा हुने साना र ठूला प्रदर्शनी त्यहीं हुन्थे ।ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको छ । तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौं राजस्व उठाउन बाँकी रहेको महानगरको भनाई छ।

महानगरले आर्ट ग्यालरी हटाएको स्थानमा पार्किङ बनाउने भएको छ । महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्र अत्याधिक ट्राफिक हुने क्षेत्र हुन् । त्यस क्षेत्रमा ठाउँ अभावले गर्दा पार्किङ समस्या आइरहेको भन्दै महानगरले ग्यालरी हटाएर पार्किङस्थल बनाउन लागेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *