कचनकवलमा क्यान्सर रोगीको सङ्ख्या बढ्दो

काठमाडौँ । झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो समय गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिएका छन् । वि.सं २०७८ साउन ११ गदेखि २०७९ भदौ ११ गतेसम्म २८ जना क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको उनले जानकारी दिएका छन् ।

अघिल्लो वर्ष १२ क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको उनले बताए । “पहिला वर्षको पाँच–छ जनाले सिफारिस लिने गरेका थिए”, उनले भने, “पछिल्लो समय क्यान्सर रोगीको सङ्ख्या बढ्दै गएको छ ।” “अस्वस्थ्य खानपान र जीवनशैली नै क्यान्सरको मुख्य कुरा हो”, स्वास्थ्य शाखा प्रमुख यादवले भने, “सीमामा क्वारेन्टाइन राख्न जरुरी छ ।” कचनकवल भारतसँग सीमा जोडिएको गाउँपालिका हो । यहाँका मानिस स–साना खाद्य सामग्रीसमेत लिन सीमावर्ती भारतीय बजार जाने गर्दछन् । सीमामा क्वारेन्टाइन नहुँदा बिना परीक्षण खाद्य सामग्री भित्रिने गरेको छ ।

बिर्तामोडस्थित कृषथोक बजारमा भारतबाट आयात हुने सागसब्जीमा विषादीको मात्रा धेरै पाइएपछि आयातमा कडाइ गरिएको थियो । तर यहाँका सीमावर्ती बजारबाट सागसब्जीदेखि अन्य घरायसी उपभोग्य वस्तु बिनापरीक्षण सोझै भित्रिने गरेको छ ।

त्यस्तै गाउँपालिकाबाट ११ मिर्गौला रोगी र सात मुटुसम्बन्धी रोगीले उपचार सहुलित र डायलायसिसका लागि सिफारिस लिएका छन् । क्यान्सर रोगीलाई उपचार सहुलितका लागि भरतपुर क्यान्सर अस्पताल, भक्तपुर, धरान, पूर्वाञ्चल क्यान्सर अस्पतला बिर्तामोडलगायतका अस्पतालमा सिफारिस दिने गरेको छ । उक्त सिफारिसका आधारमा बिरामीले रु एक लाख बराबरको उपचारमा सहुलियत पाउने गरेका छन् ।

गाउँपालिकाले समेत क्यान्सर रोगीलाई उपचारका लागि रु १० हजारदेखि रु २५ हजारसम्म आर्थिक सहयोग गर्ने गरेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिएका छन् । “उपचारमा सहयोग मिलोस् भनेर यातायात खर्चका रूपमा केही रकम सहयोग गर्ने गरेका छौँ”, उनले भने ।

त्यस्तै गाउँपालिकाले सुत्केरी महिलालाई पोषण खर्चवापत घरमै पुगेर रु तीन हजार र मृत्यु संस्कारमा रु पाँच हजार गाउँपालिकावासीलाई दिने गरेको छ । सङ्घीय सरकारको लगानीमा गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणाधीन छ भने एकवटा प्राथमिक स्वास्थ्य केन्द्र, नौवटा स्वास्थ्यचौकी र दुई आधारभूत स्वास्थ्य केन्द्रबाट गाउँपालिकावासीले स्वास्थ्य सेवा लिँदै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *