भीम रावलको आक्रोशले एमालेको कम्तीमा १० सिट गुम्ने आकंलन

काठमाडौं । एमाले अध्यक्ष केपी ओली आफूलाई नेपालको राजनीतिमा चतुर खेलाडी सम्झिन्छन् । सर्वज्ञानी ओली आफूले गरेका निर्णय र भनेका सबै सही हुन् भन्ठान्छन् । अहिले पनि उनी एमालेले बहुमत ल्याउँछ भनेर डंका पिट्दै हिँडेका छन् । तर, चुनावको मुखमै पार्टीका दुई नेताको खुलेयाम विद्रोहले ओलीको घोषणा र सपनामा पानी खन्याइदिने देखिएको छ ।

चुनावको मुखमै अध्यक्ष ओलीमाथि एमाले नेता भीम रावलले पत्रकार सम्मेलन नै गरेर संगीन आरोप लगाएपछि देशभर तरंग सिर्जना भएको छ । विपक्षी पार्टीको भन्दा पनि आक्रामक ढंगले रावलले ओलीलाई भित्तामै पुग्ने गरी लगाएको आरोपले जनमत भाँडिने देखिएको छ । रावल झन्डै पाँच दशक एमाले राजनीतिमा बिताएका नेता हुन् । उनको पार्टीमा पकड बलियो छ । उनले गत मंसिरमा सम्पन्न एमालेको महाधिवेशनमा केपी ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

आफूविरुद्ध उम्मेदवारी दिएको रिसमा ओलीले रावलको राजनीति नै सिध्याइदिने अभियानमा लागेका छन् । सोही कारण अछाम १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका रावललाई टिकट नदिई ओलीले माओवादीबाट आएका झपट बोहरालाई टिकट दिए । रावलको असन्तुष्टिका कारण अछाम १ मा एमाले उम्मेदवार बोहरालाई चुनाव जित्न निकै कठिन देखिएको छ ।

बिहीबार पत्रकार सम्मेलनमार्फत रावलले एमाले उम्मेदवार बोहराविरुद्ध अछामवासीको आक्रोश र विरोधप्रति धन्यवाद दिएका छन् । उनले आफूले एमाले उम्मेदवारलाई भोट नमाग्ने खुलेयाम घोषणा गरेपछि बालकोटमा भुइँचालो नै गएको छ ।

स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको भन्दै उनले ओलीको निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको पनि टिप्पणी गरेका छन् । आफूलाई टिकट नदिइएपछि अछामका नेता–कार्यकर्ता स्वेच्छाचारी निर्णयविरुद्ध उत्रिएकोमा रावलले धन्यवाद दिएका छन् । उनले नेपालको संविधानको धारा २६९ विपरीत निश्चित दर्शन, सिद्धान्त र विचारबाहिर गएर पार्टीले गठबन्धन बनाएको भन्दै विरोध गरेका छन् ।

मधेस प्रदेशमा प्रभु साहको असन्तुष्टि र सुदूरपश्चिममा भीम रावलको आक्रोशले एमालेले कम्तीमा १० सिट गुमाउने आकलन गरिएको छ । साहको विद्रोहले मधेस प्रदेशका सप्तरी र सिरहाबाहेक सबै जिल्लामा असर पुग्ने देखिएको छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा प्रभु साहको बलियो पकड छ । उनले एमाले र जसपाको तालेमल भएका आठ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एक दर्जन प्रदेश सभा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी लगाउन लगएका छन् ।

यसले गर्दा अब मधेस प्रदेशमा एमालेलाई चुनाव जित्न निकै महाभारत पर्ने देखिएको छ । साहले खुलेयाम विद्रोह गर्दा पनि ओली निरीह बनेका छन् । अझ भीम रावलले एमालेका सबै उम्मेदवारलाई मत नमाग्ने घोषणा नै गरेकाले यसको असर सुदूरपश्चिम प्रदेश राम्रै देखिने आकलन गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *