राजनीतिक स्थिरता र सुशासन मुख्य लक्ष्य : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताए । आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताए ।

गाउँमै रोजगारी र गाउँमै आम्दानी सिर्जना हुने वातावरण बनाइने जानकारी गराउँदै आफूले सोही लक्ष्य लिएर राजनीति सुरु गरेको नेता पौडेलले उल्लेख गरेका छन् । “गाउँमा सुविधा र रोजगारीको अवसर नभएपछि मानिस सहर झरेका छन्, अहिले गाउँमा सबै सुविधा पुगिसकेको छ, अब आम्दानी र रोजगारीको अवसर पनि पुग्छ”, उनले भने ।

तनहुँले विकासमा काँचुली फेर्ने जिकिर गर्दै वरिष्ठ नेता पौडेलले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि यो समयमा मात्र तनहुँमा दुई अर्ब रुपैँया भन्दा बढी बजेट आएको र यसले निरन्तरता पनि पाउने उल्लेख गरेका छन् । सडक, पुल, खानेपानीको विकासले तीव्रता पाएको र कषि तथा पर्यटनमा पनि क्रान्ति हुँदै गएको उनले उल्लेख गरेका छन् ।

वरिष्ठ नेता पौडेलले आजै व्यास–१३ बेनीकोट, पोखरीभञ्ज्याङ, गुदी, व्यास–१४ केशवटार, रुम्सी, ठिन, नयाँगाउँमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *